सिंहदरबारभित्र र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार्न मन्त्रीको निर्देशन
चैत ३०, २०८२ १७:३१
काठमाडौँ । सरकारले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सक्रियता देखाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सिंहदरबार क्षेत्रका प्रविधि पूर्वाधारलाई थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् ।
एकीकृत डेटा व्यवस्थापन केन्द्रका प्रमुखसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा उच्चस्तरीय इन्टरनेटको पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निरन्तर निगरानी र जोखिम व्यवस्थापनका उपायहरूलाई मजबुत बनाउन कर्मचारीहरूलाई निर्देशन दिए ।
प्राविधिक र मानवीय कमजोरीका कारण सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दक्ष जनशक्ति परिचालनमा पनि जोड दिए । मन्त्री तिमिल्सिनाले नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली खटाई समस्या देखा परेमा तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले सिंहदरबारभित्रका केही कार्यालयमा इन्टरनेट सुस्त हुने र कहिलेकाहीँ सेवा विच्छेद हुने समस्या देखिएको स्वीकार गरे । हाल सिंहदरबारमा नेपाल टेलिकममार्फत १ जीबीपीएस क्षमताको ब्रोडब्यान्ड सेवा र ‘जी–क्लाउड’का लागि थप २५० एमबीपीएस क्षमताको इन्टरनेट सञ्चालनमा रहेको जानकारी उनले दिए ।
अप्टिकल फाइबरमा हुने अवरोध, विशेषगरी सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने क्षतिले सेवा प्रभावित हुने गरेको भट्टराईले बताए । यसको दीर्घकालीन समाधानका लागि फाइबरलाई सुरक्षित रूपमा भूमिगत गरिनुपर्ने र पहिले सञ्चालनमा रहेको तर हाल कमजोर बनेको ‘इन्टरनेट रिङ’ (वैकल्पिक प्रणाली) लाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता उनले औंल्याए ।
बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रको जिम्मामा भए पनि कार्यालयभित्रको नेटवर्क र सर्भर व्यवस्थापन सम्बन्धित निकायकै हुने भएकाले प्रत्येक मन्त्रालय तथा निकायमा दक्ष सूचना प्रविधि जनशक्ति आवश्यक रहेको भट्टराईको भनाइ थियो ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८२ १७:४७
