दुबईका ट्राभल युट्युबरको सगरमाथा डकुमेन्ट्री चर्चामा, शेर्पाको वीरता र हिमालको रहस्य २१ भाषामा हेर्न सकिने
बैशाख १, २०८३ १४:५५
काठमाडौँ । दुबईका डकुमेन्ट्री मेकर तथा ट्राभल युट्युबर जो हाताब (Joe HaTTab) ले सगरमाथा र शेर्पाको साहसिक जीवनमा आधारित एक डकुमेन्ट्री सार्वजनिक गरेका छन् । ५ अप्रिलमा सार्वजनिक भएको डकुमेन्ट्रीले हालसम्म ५२ लाख बढी भ्युज बटुलेको हो ।
युट्युबमा दुई करोडभन्दा बढी सब्सक्राइबर भएका हाताब विशेष शैलीको सिनेमाटिक शट र स्टोरी टेलिङका कारण चर्चित छन् । उनैले निर्माण गरेको यो भिडिओमा सगरमाथा आरोहणका विभिन्न रोचक पक्षलाई समेटिएको छ ।
हाताबले शेर्पालाई सगरमाथा आरोहणका ‘पर्दा पछाडिका वास्तविक नायक’ का रूपमा चित्रण गरेका छन् । आरोहणको सफलताका लागि डोरी टाँग्ने, क्याम्प सेट गर्ने र १०० केजीसम्मको भारी बोक्ने शेर्पाको शारीरिक क्षमतालाई उनले खुलेर प्रशंसा गरेका छन् ।
भिडिओमा शेर्पाको आनुवंशिक विकासको चर्चा गर्दै उनीहरू कसरी समुद्र सतहमा जस्तै उच्च उचाइमा सजिलै सास फेर्न सक्छन् भन्ने वैज्ञानिक तथ्य समेत प्रस्तुत गरिएको छ । उनीहरूको रगतमा रहेको हेमोग्लोबिनमा अक्सिजन सोस्ने असाधारण क्षमता हुने कुरालाई डकुमेन्ट्रीको मुख्य आकर्षण बनाइएको छ ।
काठमाडौँबाट आवश्यक उच्च हिमाली उपकरण सङ्कलन गरी सुरु भएको यो यात्रा विश्वकै खतरनाक मानिने लुक्ला विमानस्थलको रोमाञ्चक अवतरण हुँदै अघि बढ्छ । सगरमाथाको प्रवेशद्वार लुक्लाबाट पदयात्रा सुरु गरी हाताब नाम्चे बजार पुगेका थिए जहाँ उनले विश्व कीर्तिमानी आरोहीहरूसँग संवाद गरेका छन् । उनले ३१ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामी रिता शेर्पासँग भेट गरी शेर्पा बिना आरोहण किन असम्भव छ भन्नेबारे चर्चा गरेका छन् । साथै, विश्वका आठ हजार मिटर माथिका १४ ओटै हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो आरोही निमा रिन्जी शेर्पालाई पनि उनले आफ्नो भिडिओमा स्थान दिएका छन् ।
भिडिओमा आरोहणको खर्च र जोखिमलाई पनि उत्तिकै महत्त्वका साथ देखाइएको छ । खुम्बु आइसफल जस्ता जोखिमपूर्ण ठाउँमा बाटो बनाउने शेर्पाको कठिन काम र करिब ५० हजार डलरभन्दा बढी लाग्ने आरोहण खर्चका बावजुद मानिस किन हिमाल चढ्छन् भन्ने प्रश्नको उत्तर उनले खोजेका छन् । शेर्पाका अनुसार मानिस आधुनिक जीवनको तनावबाट टाढा रहन र एक प्रकारको आत्मसन्तुष्टि प्राप्त गर्न हिमाल चढ्ने गर्छन् । ५,७०० मिटरको उचाइमा पुगेर खिचिएको सगरमाथाको सिनेम्याटिक शटले दर्शकलाई छुट्टै अनुभूति दिएको छ ।
हाताब आफ्ना डकुमेन्ट्री फरक फरक भाषामा उपलब्ध गराउने क्रियटर हुन् । उनले नेपालको हिमाली क्षेत्रबारे बनाएको यो डकुमेन्ट्रीलाई २१ ओटा फरक-फरक भाषा डब गरिएको छ । युट्युबको ‘अडियो ट्रयाक’ फिचर प्रयोग गरेर २१ ओटामध्ये आफूले चाहेको भाषामा हेर्न सकिन्छ ।
जो हाताबले नेपालका बारेमा भिडिओ बनाएको यो पहिलो पटक भने होइन । उनले यसअघि चार वर्ष पहिले जीवित देवीको नामले चिनिने ‘कुमारी’ र तीन वर्ष पहिले नेपालको भिरमौरीको महको खोजीमा आधारित भिडिओ निर्माण गरिसकेका छन् । सगरमाथा सम्बन्धी यो नयाँ डकुमेन्ट्रीले पुनः एकपटक नेपालको पर्यटन र शेर्पाको वीरतालाई चर्चा दिएको छ ।
पछिल्लो समय ‘फेक रेस्क्यु’ स्क्यामका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ । ट्रेकिङमा जाने पर्यटकलाई गाडइले विषाक्त खाना खुवाई बिमारी पार्ने र बीमाको रकम हत्याउने गरेको भ्रामक दाबी विश्वव्यापी रूपमा फैलिएको छ । यस परिस्थितिमा जो हाताबको भिडिओले नेपाली शेर्पा गाइडको इमानदारितालाई दर्शाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ १५:५७
