५ वर्षभित्र नेपाललाई एआई र कम्प्युटेसन शक्ति निर्यात गर्ने देश बनाउने सरकारको लक्ष्य
बैशाख १, २०८३ १९:३९
काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र कम्प्युटेसन शक्ति निर्यात गर्ने मुलुकको रूपमा रूपान्तरण गर्ने योजना अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदामा यो विषय समेटिएको हो समेटिएको हो ।
मङ्गलबार सार्वजनिक मस्यौदा अनुसार नेपालमै डेटा सेन्टर, एआई कम्प्युटिङ र डिजिटल सेवाको स्वदेशी उद्योग निर्माण गरी मुलुकलाई विश्व अर्थतन्त्रसँग जोडिनेछ । “आगामी पाँच वर्षभित्र कृत्रिम बौद्धिकता र कम्प्युटेसन शक्ति निर्यात गर्ने देशको रूपमा नेपाललाई रूपान्तरण गर्नेछौं,” मस्यौदमा अगाडि लेखिएको छ, “नेपालमै डेटा केन्द्र, एआई कम्प्युटिङ र डिजिटल सेवाको स्वदेशी उद्योग निर्माण गरी विश्व अर्थतन्त्रसँग जोडिनेछ ।”
नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले अभियानमुखी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । मस्यौदामा भनिएको छ, “नेपाली आईटी कम्पनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन From Nepal to the World (नेपालबाट विश्वसम्म) अभियानमुखी कार्यक्रम सञ्चालन गरिनेछ । सबै डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको रुपमा विकास गरिनेछ ।”

नेपाललाई प्रविधि हबको रूपमा विकास गर्न सरकारले विश्वका ठुला बहुराष्ट्रिय प्रविधि कम्पनीलाई नेपालमा आफ्ना विकास र नवप्रवर्तन केन्द्र स्थापना गर्न आकर्षित गर्ने नीति लिएको छ । यस्ता कम्पनी र स्वदेशी सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्न कर सहुलियत प्रदान गर्ने योजना समेत मस्यौदामा उल्लेख छ ।
“बहुराष्ट्रिय प्रविधि कम्पनीलाई नेपालमा विकास र नवप्रवर्द्धन केन्द्र स्थापना गर्न आकर्षित गरिनेछ,” मस्यौदामा भनिएको छ, “सूचना प्रविधि कम्पनीलाई कर सहुलियत प्रदान गरिनेछ । सरकारी डिजिटल परियोजनामा स्थानीय आईटी कम्पनीको सहभागिता र साझेदारी सुनिश्चित हुने गरी सार्वजनिक खरिद प्रणालीमा सुधार गरिनेछ ।”

प्रधानमन्त्री कार्यालयले यो मस्यौदाउपर आगामी १० वैशाखभित्र सार्वजनिक राय-सुझाव माग गरेको छ । प्राप्त सुझावलाई समावेश गरी अन्तिम रूप दिइने यो प्रतिबद्धता पत्रलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट र नीति तथा कार्यक्रमसँग आबद्ध गरी तत्काल कार्यान्वयनमा लगिने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८३ १९:४१
