काठमाडौँ । सामाजिक सञ्जालमा प्रतिनिधि सभाका सदस्यहरू पुरुषोत्तम यादव र श्रद्धा कुँवर क्षेत्रीलाई जोडेर एआई (आर्टिफिसियल इन्टेलिजेन्स) निर्मित एउटा भिडिओ भाइरल भएको पाइएको छ । संसद् बैठकका क्रममा ‘जेन जी’ सांसदहरूबिच ‘फ्लर्ट’ भइरहेको जस्तो देखिने गरी बनाइएको उक्त भिडिओले धेरैमाझ भ्रम फैलाएको छ ।
भिडिओमा सांसद यादव रोमान्टिक शैलीमा कुँवरलाई हेर्दै केही बोलिरहेका देखिन्छन् । भिडिओको पृष्ठभूमिमा नेपाली चलचित्र ‘जेरी’को ‘के यो माया हो ?’ बोलको गीत बजिरहेको छ । केही बेरपछि सांसद कुँवरले पनि यादवतर्फ हेर्दै मुस्कुराएको वा बोलेको दृश्य देखिन्छ।
‘Kalpana Bhatta’ नामको फेसबुक प्रयोगकर्ताले “माननीय सांसदहरूको लभ परेछ जस्तो छ” भन्ने क्याप्सनसहित उक्त भिडिओ राखेकी छिन् । यो भिडिओलाई हालसम्म २३ सयभन्दा बढीले रियाक्ट गरेका छन् भने ८३ हजारभन्दा बढी पटक हेरिएको छ ।

यस्तै, युट्युब च्यानल ‘ChiranPaudelvlg’, ‘RP Update Media’, इन्स्टाग्राम अकाउन्टले ‘fun_nepal11’ले पनि सोही भिडिओ पोस्ट गरेका छन् ।
तथ्य जाँचका क्रममा उक्त भिडिओ पूर्ण रूपमा एआई निर्मित रहेको पुष्टि भएको छ । एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ ले उक्त भिडिओ ९९.९ प्रतिशत एआई निर्मित रहेको देखायो । यो भिडिओ बनाउन एआई टुल ‘भिओ ३’ को प्रयोग गरिएको हुन सक्ने निष्कर्ष निकालिएको छ ।

के हो वास्तविकता ?
भिडिओमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सांसद बनेका पुरुषोत्तम यादव र श्रद्धा कुँवर क्षेत्रीले लगाएको पोसाक शुक्रबारको प्रतिनिधि सभा बैठकसँग मेल खान्छ । यादवले निलो रङको सर्ट र कालो ‘स्लिभलेस’ स्वेटर लगाएका छन् भने कुँवरले नीलो सर्ट र कालो कोट लगाएकी छिन् ।
शुक्रबार दिउँसो ४:०० बजेको प्रतिनिधि सभा बैठकको आधिकारिक प्रत्यक्ष प्रसारण (Live) मा यादव र कुँवरको पोसाक सोही बमोजिम देखिए पनि उनीहरूको आसन भने फरक छ । वास्तविक बैठकमा पुरुषोत्तम यादव र श्रद्धा कुँवरको बीचमा अर्का सांसद केपी खनाल बसिरहेका छन् ।

संसद् बैठककै दिनका तस्बिर र दृश्यहरूलाई दुरुपयोग गरी दुई सांसदबिच प्रेम सम्बन्ध रहेको जस्तो देखिने गरी एआईमार्फत भ्रामक भिडिओ बनाएर मिथ्या सूचना फैलाइएको पुष्टि हुन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ ७:२३
