close

हुलाकमार्फत नागरिकको घरदैलोमा राहदानी पुर्‍याउने काम सुरु, यी जिल्लामा भयो परीक्षण

टेकपाना टेकपाना

बैशाख ३, २०८३ १५:३

बेनी नगरपालिका २ बिमिराबोट स्थित एक घरमा पुगेर राहदानी बुझाउँदै प्रजिअ रविन्द्र आचार्य लगायत । तस्बिर: गोरखापत्र/ठाकुरप्रसाद आचार्य बेनी नगरपालिका २ बिमिराबोट स्थित एक घरमा पुगेर राहदानी बुझाउँदै प्रजिअ रविन्द्र आचार्य लगायत । तस्बिर: गोरखापत्र/ठाकुरप्रसाद आचार्य

काठमाडौँ । सरकारले नागरिकलाई सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने घोषणा गरेसँगै केही जिल्लाहरूमा राहदानी (पासपोर्ट) घरमै पुऱ्याउने कार्य सुरु भएको छ । हुलाक सेवा विभागमार्फत हाल सिराहा, डडेल्धुरा, मकवानपुर र म्याग्दीका केही स्थानमा परीक्षणका रूपमा यो सेवा सञ्चालन गरिएको हो ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया पङ्गेनी भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सेवाग्राहीको चाहना बुझेर राहदानी घरमै डेलिभरी गर्न थालिएको छ । “धेरै जिल्लाहरूमा घर घरमा पुऱ्याउने गरी काम अघि बढिरहेको छ । सिराहामा केही दिन पहिलेबाटै र डडेलधुरामा हिजो (बुधबार)देखि यो कार्य सुरु भएको छ । सङ्खुवासभामा पनि तयारी भइरहेको छ,” उनले भनिन् ।

विशेषगरी विकट क्षेत्रका नागरिकलाई सहज होस् भन्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको उनले बताइन् । 

गत १३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको १०० ओटा कार्यसूचीको बुँदा नम्बर २७ मा सरकारी कागजात घरमै पुऱ्याउने उल्लेख छ । उक्त बुँदामा भनिएको छ, “सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी 'Government Courier Service' का रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू १०० दिनभित्र घरमै पुऱ्याउने व्यवस्था लागु गर्ने ।” सोही योजना अनुसार घरघरमा राहदानी पुर्‍याउने प्रक्रिया सुरु गरिएको हो । 

सेवालाई थप प्रभावकारी बनाउन अब राहदानीको फारम भर्दा नै सेवाग्राहीले आफूलाई पायक पर्ने स्थान छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।

महानिर्देशक भट्टराईले भनिन्, “राहदानीको फारम भर्दा नै तपाईँलाई डेलिभरी कहाँ चाहिन्छ भनी भर्ने व्यवस्था मिलाउन थालेका छौँ । राहदानी जारी भएपछि पनि सेवाग्राहीको रोजाइ अनुसार घरमै पुऱ्याइनेछ ।”

सरकारको यो नयाँ योजना आउनुभन्दा पहिले फारम भरेकाहरूको हकमा भने ठेगाना स्पष्ट नहुने भएकाले जिल्ला प्रशासन कार्यालयले नै सेवाग्राहीलाई सम्पर्क गरेर घरमा पठाउने व्यवस्था मिलाएको छ ।

काठमाडौँबाट सिधै डेलिभरीमा प्राविधिक चुनौती

हाल राहदानी विभागबाट छापिएका राहदानी हुलाकमार्फत जिल्लामा पुग्ने गरेका छन् । राहदानी विभागबाट तीन जिल्ला आफैँले राहदानी लिएर जाने गरेका छन् भने दुर्गमका १० जिल्लामा हवाई सेवा र अन्य जिल्लामा हुलाकमार्फत  पठाउने गरिएको छ । जिल्ला पुगेका ती राहदानीलाई पुन: हुलाकले स्थानीय ठेगानामा पुऱ्याउन सुरु गरेको छ । 

तर, काठमाडौँबाटै सिधै सेवाग्राहीको घरमा राहदानी पठाउन प्राविधिक चुनौती देखिएका छन् । राहदानी विभागकी निर्देशक पूजा बेलबासेका अनुसार विभाग र जिल्लाबाट आवेदन दिनेहरूको वितरण प्रक्रिया फरक हुन्छ । 

“हुलाकसँग सिस्टम इन्टिग्रेसन गर्नुपर्ने छ । हामीले उहाँहरूलाई पिकअप पोइन्ट दिनुपर्छ र ड्रप पोइन्टको ठेगानाहरू डिजिटलाइज गर्नुपर्ने हुन्छ,” निर्देशक बेलबासेले भनिन्, “त्यसैले विभागबाट सोझै सेवाग्राहीको घरमा पुऱ्याउने काम तत्काल सुरु गर्न सकेका छैनौँ ।” 

कार्यसूचीमा तोकिएको १०० दिन भित्रै प्रणाली तयार पार्ने गरी काम भइरहेको उनले बताइन् । 

काठमाडौँबाटै सिधै घरघरमा कागजात पठाउनका लागि विद्यमान ‘ग्याप’ पत्ता लगाउन एउटा अध्ययन टोली समेत गठन गरिएको हुलाक सेवा विभागकी महानिर्देशक पङ्गेनीले बताइन् । राजस्व पोर्टलमा आवश्यक परिवर्तन र सफ्टवेयर सुधारका काम सकिएपछि काठमाडौँबाटै देशभरका सेवाग्राहीको घरमा राहदानी पुर्‍याउन सकिने उनले विश्वास व्यक्त गरिन् ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ १५:४३