एफवनसफ्ट इन्टरनेसनलको सीईओमा सनत कुमार पौडेल नियुक्त, सुवास शर्माले छाडे कार्यकारी जिम्मेवारी
बैशाख ३, २०८३ १७:१३
नवनियुक्त सीईओ सनत कुमार पौडेल बायाँबाट दोस्रोमा
काठमाडौँ । फिनटेक कम्पनी एफवनसफ्ट इन्टरनेसनलले सनत कुमार पौडेललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममार्फत पौडेललाई नेतृत्व सुम्पिएको घोषणा गरेको हो ।
पौडेलले सह-संस्थापक तथा निर्देशक सुवास शर्माको स्थान लिनेछन् । निवर्तमान सीईओ शर्माकै कार्यकालमा इसेवा र फोनपेजस्ता डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तार भएको थियो ।
कार्यकारी जिम्मेवारीबाट बाहिरिएका शर्मा अब निर्देशकको भूमिकामा रहँदै एफवनसफ्ट ग्रुपको रणनीतिक दिशानिर्देशनमा सक्रिय हुने बताइएको छ ।
नवनियुक्त सीईओ पौडेल हाल 'फोननेक्स्ट' (FoneNxt) का सीईओ समेत हुन् । उनले अब दुवै संस्थाको नेतृत्व एकसाथ सम्हाल्नेछन् । एफवनसफ्टमा आबद्ध हुनुअघि उनले नबिल बैंकमा १० वर्षभन्दा बढी समय पेमेन्ट टेक्नोलोजी र डिजिटल ट्रान्सफर्मेसन विभागको नेतृत्व गरेका थिए । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उनीसँग दुई दशकभन्दा लामो अनुभव छ ।
आफ्नो कार्यकाल स्मरण गर्दै निवर्तमान सीईओ शर्माले विगत २२ वर्षमा कम्पनीले निर्माण गरेको बलियो आधारप्रति गर्व व्यक्त गरे । उनले भने, “एफवनसफ्टको वृद्धि सम्पूर्ण टोलीको साझा प्रयास हो । यो ऐतिहासिक मोडमा कम्पनीको नेतृत्व गर्न सनतको क्षमताप्रति मलाई पूर्ण विश्वास छ ।”
नेपाललाई 'क्यासलेस इकोनोमी' तर्फ लैजान एफवनसफ्टले बैंक तथा वित्तीय संस्थाहरूसँग मिलेर मोबाइल भुक्तानी र डिजिटल ऋण प्लेटफर्महरूको इकोसिस्टम तयार पारेको छ ।
नवनियुक्त सीईओ पौडेलले आफ्नो कार्यकालमा प्रविधिमा आधारित नेतृत्वलाई थप सुदृढ बनाउने र सेवा विस्तारलाई तीव्र पार्ने लक्ष्य राखेका छन् । “एफवनसफ्टको २२ वर्षे यात्राको यो महत्वपूर्ण मोडमा नेतृत्व गर्न पाउनु गर्वको कुरा हो," उनले भने, "हाम्रो लक्ष्य नेपालको फिनटेक दक्षतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने र दीर्घकालीन मूल्य सिर्जना गर्ने हुनेछ ।”
तेस्रो दशकमा प्रवेश गरेको एफवनसफ्टले अब आफ्नो प्रभाव नेपालभित्र मात्र नभई विश्वव्यापी स्तरमा फैलाउने योजना बनाएको छ । एफवनसफ्ट ग्रुपअन्तर्गत इसेवा, फोनपे, इसेवा मनी ट्रान्सफर, फोनलोन लगायतका विभिन्न प्रविधि कम्पनी सञ्चालित छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ १७:४४
