close

डेलको नयाँ गेमिङ ल्यापटप ‘एलियनवेयर १६ अरोरा’ नेपाली बजारमा, मूल्य साढे ३ लाखदेखि सुरु

टेकपाना टेकपाना

बैशाख ३, २०८३ २१:२१

डेलको नयाँ गेमिङ ल्यापटप ‘एलियनवेयर १६ अरोरा’ नेपाली बजारमा, मूल्य साढे ३ लाखदेखि सुरु

काठमाडौँ । डेलको आधिकारिक बिक्रेता आईटी ग्लोबल प्रालिले नेपाली बजारमा डेलको पछिल्लो गेमिङ ल्यापटप ‘डेल एलियनवेयर १६ अरोरा’ सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, उत्कृष्ट पर्फमेन्स र भरपर्दो ब्याट्री ब्याकअप रहेकाले यो ल्यापटप प्रोफेसनल गेमरहरूका लागि निकै उपयुक्त हुने कम्पनीको दाबी छ ।

‘इन्टरस्टेलर इन्डिगो’ कलरमा उपलब्ध यो ल्यापटप आकर्षक देखिन्छ । यसमा १६ इन्चको डब्लूक्वीएक्सजीए (२५६०×१६००) रेजोलुसनयुक्त आईपीएस डिस्प्ले राखिएको छ । ल्यापटपमा रहेको ‘कम्फर्ट भ्यू प्लस’ फिचरले लामो समयसम्म स्क्रिनमा हेर्दा आँखामा पर्ने नकारात्मक असरलाई कम गर्ने कम्पनीको भनाइ छ ।

यो ल्यापटपमा इन्टेलको कोर सेभेन (२४०एच) र कोर ९ (२७०एच) सिरिज-२ प्रोसेसर प्रयोग गरिएको छ । ग्राफिक्सका लागि यसमा एनभिडियाको आरटीएक्स ५०६० र आरटीएक्स ५०७० जीपीयू जडान गरिएको छ, जसले गेमिङका दौरान उच्च स्तरीय फ्रेम रेट र ‘रे ट्रेसिङ’ सपोर्ट प्रदान गर्दछ ।

हेभी गेम खेल्दा ल्यापटप तातिने समस्या समाधान गर्न यसमा विशेष कुलिङ सिस्टम राखिएको छ, जसले फ्यानको आवाजलाई समेत नियन्त्रण गर्दछ । कनेक्टिभिटीका लागि वाई-फाई ७, ब्लुटुथ, यूएसबी-सी, एचडीएमआई २.१ र गिगाबिट इथरनेट जस्ता पोर्ट उपलब्ध छन् ।

आईटी ग्लोबलले यस ल्यापटपलाई दुई भेरियन्टमा बजारमा ल्याएको छ । आरटीएक्स ५०७० भेरियन्टमा ३२ जीबी डीडीआर५ र्‍याम र १ टीबी स्टोरेज रहेको छ भने आरटीएक्स ५०६० भेरियन्टमा १६ जीबी डीडीआर५ र्‍याम र १ टीबी स्टोरेज उपलब्ध छ ।

डेल एलियनवेयर १६ अरोरा (आरटीएक्स ५०६०) को मूल्य तीन लाख ५० हजार ९०० रुपैयाँ तोकिएको छ । त्यसैगरी, उच्च भेरियन्ट डेल एलियनवेयर १६ अरोरा (आरटीएक्स ५०७०) को मूल्य चार लाख ९४ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ २१:३७