काठमाडौँ । नेपाली तिथि–मिति र चाडपर्वका जानकारीका लागि प्रयोगकर्तामाझ डिजिटल प्लेटफर्म ‘नेपाली पात्रो’ नयाँ लोगो र परिमार्जित स्वरूपमा प्रस्तुत भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर नयाँ सोच र फरक डिजाइनसहित ‘नेपाली पात्रो’ आएको हो ।
हालसम्म एक करोड ३० लाखभन्दा बढी पटक डाउनलोड भएको यो एपले विश्वभर रहेका नेपालीहरूलाई तिथि–मिति, चाडपर्व र आफ्नो संस्कृतिसँग जोड्न सफल भएको कम्पनीको भनाइ छ ।
कम्पनीका संस्थापक विरिजन महर्जनले पात्रोलाई केवल मिति हेर्ने साधन मात्र नभई, नेपाली परम्परा र पहिचानलाई पुस्तान्तरण गर्ने माध्यमको रूपमा व्याख्या गरेका छन् ।
महर्जन भन्छन्, ‘‘पात्रो हाम्रो परम्परा, मूल्यमान्यता र साझा पहिचानलाई पुस्तौँ पुस्ता र भूगोलसम्म जोड्ने एक जीवन्त सांस्कृतिक धरोहर हो भन्नेमा हामी विश्वास गर्छौँ । यसै विश्वास र नयाँ पहिचानका साथ हामी बहुउपयोगी जानकारी, सिर्जनात्मक अभिव्यक्ति र प्रविधिमार्फत विश्वभरका नेपालीलाई सुसूचित राख्दै आफ्नो संस्कृतिसँग जोड्ने प्रयासलाई निरन्तरता दिनेछौँ ।’’
नेपाली पात्रोको नयाँ लोगोमा नेपाली अक्षर ‘ने’ को अमूर्त रूप प्रस्तुत गरिएको छ, जसले नेपाल र नेपालीपनको प्रतीकात्मक प्रतिनिधित्व गर्दछ । यसले क्यालेन्डर परिवर्तनको गतिशीलतालाई झल्काउँदै समयको निरन्तर प्रवाह र परिवर्तनको भावलाई व्यक्त गर्ने कम्पनीले जनाएको छ ।
संस्कृति, समुदाय, सिर्जना र प्रविधिलाई एकसाथ जोड्दै प्रयोगकर्तालाई अझ अर्थपूर्ण र प्रेरणादायी अनुभव प्रदान गर्ने लक्ष्य ‘नेपाली पात्रो’ले राखेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ १५:४५
