close

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका ‘सानु भाइ’ पक्राउ

टेकपाना टेकपाना

बैशाख ७, २०८३ १९:४८

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका ‘सानु भाइ’ पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन् । बझाङ जिल्ला थलारा गाउँपालिका वडा नं. ४ मयल स्थायी घर भएका २० वर्षीय सानु भाइ भन्ने साजन विष्टलाई प्रहरीले काठमाडौँको सिनामंगलबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विष्टले ‘सानु भाइ’ नामक फेसबुक एकाउन्टबाट श्रृंखलाबद्ध रूपमा धम्कीपूर्ण पोस्ट र भिडिओहरू सार्वजनिक गरेका थिए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न माग गर्दै, अन्यथा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्न आफ्नो टिम बाध्य हुने धम्की दिएका थिए ।

विष्टले काठमाडौँमा 'एके-४७' जस्ता अत्याधुनिक हतियारहरू भित्रिसकेको र आफूले भनेका कुराहरू नमानेमा बहालवाला प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मार्ने भन्दै जनमानसमा त्रास फैलाउने अभिव्यक्ति दिएका थिए ।

भारतमा बस्दा पनि आपराधिक गतिविधिमा संलग्न भएको खुलासा

अनुसन्धानका क्रममा पक्राउ परेका विष्ट विगत ५ वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएको खुलेको छ । उनी त्यहाँको एमजी रोडस्थित एक फेन्सी स्टोरमा काम गर्थे । प्रहरीका अनुसार विष्ट भारतमा रहँदा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको बुझिएको छ । उनले सामाजिक सञ्जालको दुरुपयोग गरी नेपाल सरकारका उच्च पदाधिकारीहरूलाई लक्षित गर्दै पटक-पटक धम्की दिने गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

५ वैशाखमा पक्राउ परेका विष्टलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि साइबर ब्युरो, भोटाहिटी पठाइएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८३ २०:१७