close

व्यवसायीका लागि नयाँ सुविधा, अब नेपालबाटै एयरटेल नम्बर प्रयोग गरी भारतमा कल गर्न सकिने

टेकपाना टेकपाना

बैशाख ९, २०८३ १३:४२

व्यवसायीका लागि नयाँ सुविधा, अब नेपालबाटै एयरटेल नम्बर प्रयोग गरी भारतमा कल गर्न सकिने

काठमाडौँ । नेपाली व्यवसायीहरूले अब नेपालबाटै भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनी एयरटेलको भीओआईपी नम्बर प्रयोग गरी त्यहाँका ग्राहकलाई कल गर्न सक्ने भएका छन् । यसका लागि नेपालको कम्युनिकेसन म्यानेजमेन्ट प्लेटफर्म आकाश टेल र भारतको एयरटेलबिच रणनीतिक साझेदारी भएको छ ।

सीमापार व्यापार र डिजिटल विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ यो सहकार्य गरिएको आकाश टेलले जनाएको छ ।

यो साझेदारीसँगै नेपाली कम्पनीहरूले नेपालमै बसेर एयरटेलको स्थानीय भारतीय नम्बरबाट भारतभित्र कल गर्न पाउनेछन् । यसले अन्तर्राष्ट्रिय सञ्चार प्रक्रियालाई सहज, विश्वसनीय र व्यवसायमैत्री बनाउने आकाश टेलको विश्वास छ ।

"सामान्यतया भारतमा व्यापार विस्तार गर्दा नेपाली नम्बरबाट कल जाँदा ग्राहकले विश्वास नगर्ने र फोन नउठ्ने समस्या हुने गर्छ । सोही समस्या समाधान गर्न एयरटेलसँग सहकार्य गरिएको हो," आकाश टेलले भनेको छ ।

स्थानीय भारतीय नम्बरबाट फोन गर्दा ग्राहकले फोन उठाउने दर (रेस्पोन्स रेट) बढ्ने र उनीहरूको विश्वास जित्न सहज हुने कम्पनीको विश्वास छ । साथै, यसबाट न्यूनतम लागतमा भारतीय बजारमा मार्केटिङ र सेल्स अपरेसन सञ्चालन गर्न सकिनेछ ।

यो प्रविधिमार्फत नेपाली व्यवसायीले भारतमा कुनै भौतिक कार्यालय स्थापना नगरी नै त्यहाँ आफ्नो व्यावसायिक उपस्थिति जनाउन सक्ने बताइएको छ ।

त्यति मात्र नभई, यहाँबाट हुने कलको व्यवस्थापन, ट्रयाकिङ र सञ्चालन समेत आकाश टेलकै प्लेटफर्ममार्फत सहजै गर्न सकिनेछ । यसले समय र लागत बचत गर्नुका साथै ठूलो भौतिक पूर्वाधार बिना नै व्यवसाय विस्तारलाई छिटो र प्रभावकारी बनाउने विज्ञप्तिमा उल्लेख छ ।

साझेदारीबारे बोल्दै आकाश टेलका उपाध्यक्ष राजन कोइरालाले भने, "यो केवल दुई कम्पनीबिचको सहकार्य मात्र होइन, नेपाली व्यवसायका लागि भारतीय बजारमा प्रवेश गर्ने यो एउटा स्मार्ट डिजिटल गेटवे हो । भीओआईपी प्रविधिको प्रयोगले सञ्चारलाई अझ सहज, मापनयोग्य र प्रभावकारी बनाउनेछ ।"

विशेषगरी बीपीओ, आईटी कम्पनी, ई-कमर्स, पर्यटन र निर्यात क्षेत्रका व्यवसायीका लागि यो सेवा ‘गेम चेन्जर’ साबित हुने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ १४:३८