गृह मन्त्रालयको वेबसाइटबाट हट्यो सुधन गुरुङको फोटो, प्रधानमन्त्री बालेनको तस्बिर अपडेट
बैशाख ९, २०८३ २२:१५
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएसँगै मन्त्रालयको आधिकारिक वेबसाइटबाट उनको फोटो हटेको छ । बुधबार दिउँसो राजीनामा बुझाएलगत्तै मन्त्रालयको वेबसाइटमा गुरुङको स्थानमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को फोटो राखिएको छ ।
गुरुङको राजीनामासँगै तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन आफैँले सम्हाल्ने भएका छन् । सोही कारण मन्त्रालयको वेबसाइटमा विभागीय मन्त्रीको रूपमा प्रधानमन्त्री बालेनको तस्बिर राखिएको हो ।
हाल अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका एक व्यक्तिसँग शेयर कारोबार भएको विषयलाई लिएर विवादमा परेपछि गुरुङले बुधबार नै प्रधानमन्त्रीसामु राजीनामा बुझाएका हुन् । हालै सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा उल्लेखित आय र लगानीको स्रोत नखुलेको भन्दै चौतर्फी प्रश्न उठिरहेको छ ।
सम्पत्ति विवरणमा नखुलाइएको शेयर लगानी र त्यसको स्रोतका विषयमा प्रश्न उठेपछि गुरुङ स्वयं, प्रधानमन्त्री बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शीर्ष नेतृत्वमाथि नैतिक दबाब परेको थियो । अन्ततः मन्त्री नियुक्त भएको २७औँ दिनमा गुरुङ पदबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री शाहले शपथ लिएकै दिन गृहमन्त्रीमा नियुक्त भएका गुरुङ सुरुवाती मन्त्रिपरिषद्को मर्यादाक्रममा तेस्रो स्थानमा थिए । पछि मर्यादाक्रम हेरफेर हुँदा उनी पाँचौँ स्थानमा झरेका थिए ।
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ २२:१५
