close

जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका कैदी एटीएम तोडफोड र लुटपाट घटनामा भेटिएपछि...

टेकपाना टेकपाना

बैशाख ११, २०८३ १७:५३

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । राजधानीको गोङ्गबुमा एटीएम तोडफोड तथा न्युरोडमा लुटपाट मच्चाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक गत भदौको जेनजी आन्दोलनको मौका छोपेर प्रहरी हिरासतबाट फरार भएका कैदी रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ क्यानखोला स्थायी घर भई हाल काठमाडौंको असन बस्ने २१ वर्षीय सविन नेपाली रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सविनले बुधबार राति अन्दाजी ९ बजे काठमाडौँ महानगरपालिका-१९ न्युरोड रामघाटस्थित गल्लीमा एक व्यक्तिलाई कुटपिट गरी लुटपाट गरेका थिए । उक्त लुटपाटको घटनालगत्तै सोही रात अन्दाजी १२:२० बजे उनले काठमाडौँ-२६ गोङ्गबु चोकमा रहेको ग्लोबल आइएमई बैंकको एटीएम तोडफोड गरेका थिए ।

एटीएम तोडफोडको खबर पाएपछि खटिएको प्रहरी टोलीले उनलाई बिहीबार काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीको विज्ञप्ति अनुसार यसअघि सविन नेपालीविरुद्ध २२ साउन २०८२ मा प्रहरी वृत्त जनसेवामा चोरी कसुरमा उजुरी दर्ता भएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेकै बखत उनी गत २४ भदौमा भागेका थिए ।

त्यसबाहेक उनको पृष्ठभूमि साइबर अपराधमा पनि जोडिएको विज्ञप्तिमा उल्लेख छ । २४ भदौ २०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंमा साइबर अपराध कसुरमा मुद्दा दर्ता भई उनले २ महिना बाल सुधार गृह (ठिमी, भक्तपुर) मा समय बिताएको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सविन नेपालीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ १८:३२