प्रयोगकर्ताको सहजताका लागि आयो ‘मेटा अकाउन्ट’ सिस्टम, एउटै पासवर्डले सबै एप खुल्ने
बैशाख १२, २०८३ १६:१६
काठमाडौँ । मेटाले आफ्ना प्रयोगकर्तालाई लगइन गर्न र डिभाइस व्यवस्थापन गर्न थप सहज बनाउने उद्देश्यले ‘मेटा अकाउन्ट’ प्रणाली ल्याउने घोषणा गरेको छ । बिहीबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले एक वर्षभित्र यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने जनाएको हो ।
हाल मेटाको इकोसिस्टम निकै फराकिलो भइसकेको छ । जसका कारण प्रयोगकर्ताले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेटा एआई ग्लासेस जस्ता विभिन्न सेवाका लागि छुट्टाछुट्टै अकाउन्ट र लगइन प्रयोग गर्नुपर्ने झन्झट छ । अहिले सञ्चालनमा रहेको ‘अकाउन्ट्स सेन्टर’ले केही सहजता प्रदान गरे पनि नयाँ प्रणालीले यसलाई थप सरल र एकीकृत बनाउने कम्पनीको दाबी छ ।
नयाँ व्यवस्था अनुसार अब प्रयोगकर्ताले मेटा इकोसिस्टमभित्रका आफ्ना सबै अकाउन्टका लागि एउटै पासवर्ड सेट गर्न सक्नेछन् । यी लग-इनहरूलाई ‘पासकी’ अर्थात् औँठाछाप, अनुहार पहिचान वा डिभाइस पासवर्डमार्फत पनि सुरक्षित गर्न सकिनेछ ।

मेटाका अनुसार यो प्रणालीमा मल्टी-फ्याक्टर अथेन्टिकेसन सम्बन्धी जानकारी र विभिन्न डिभाइसमा लगइन अलर्ट जस्ता सुरक्षा सुविधा पनि समावेश हुनेछन् । कम्पनीले आफ्नो ब्लग पोस्टमा लेखेको छ, “मेटाका सबै एप र डिभाइसमा लागु हुने सेटिङ अब तपाईंको मेटा अकाउन्टमार्फत एकै ठाउँबाट व्यवस्थापन गर्न सकिन्छ । पासवर्ड, टु-फ्याक्टर अथेन्टिकेसन र अकाउन्टसँग जोडिएको ईमेल एड्रेस जस्ता सेटिङ एपपिच्छे परिवर्तन नहुने भएकाले अब प्रयोगकर्ताले तिनलाई छुट्टाछुट्टै अपडेट गरिरहनु पर्दैन ।”
यद्यपि, एप अनुसारका व्यक्तिगत सेटिङ भने सम्बन्धित एपबाटै व्यवस्थापन गर्नुपर्नेछ । “तपाईंको फेसबुक पोस्ट कसले हेर्न पाउने भन्ने कुरा फेसबुकको सेटिङ हो भने इन्स्टाग्रामको फोटोमा कसैले ट्याग गर्न पाउने वा नपाउने भन्ने कुरा इन्स्टाग्रामकै सेटिङ हो, त्यसैले यी सुविधा सम्बन्धित एपमै रहनेछन्,” मेटाले भनेको छ ।
नयाँ ‘मेटा अकाउन्ट’ सेटअपले प्रयोगकर्तालाई आफ्ना सबै अकाउन्ट लिङ्क गर्नैपर्ने बाध्यता भने सिर्जना गर्ने छैन । यदि कोही प्रयोगकर्ता आफ्नो लग-इन छुट्टाछुट्टै राख्न चाहन्छन् भने उनीहरूले त्यसो गर्न पाउनेछन् । साथै प्रयोगकर्ताले जुनसुकै बेला मुख्य मेटा अकाउन्टमा अन्य अकाउन्ट थप्न वा हटाउन सक्ने विकल्प पनि कम्पनीले खुला राखेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ १६:१६
