एक महिनामै छापिए ११ लाख लाइसेन्स, असार मसान्तसम्म पुराना बाँकी सबै प्रिन्ट गरी सकिने
बैशाख १४, २०८३ १०:१८
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले पछिल्लो एक महिनामै ११ लाख सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाईको काम सम्पन्न गरेको छ । पहिलो ५ महिनामा मुस्किलसँग १ लाख लाइसेन्स छापेको केन्द्रले पछिल्लो एक महिनामै बाँकी ११ लाख लाइसेन्स प्रिन्ट गर्न सफल भएको हो ।
६ महिनामा १२ लाख लाइसेन्स छाप्ने गरि यातायात व्यवस्था विभागसँग भएको सम्झौता अनुसारको लक्ष्य पुरा भएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताए । उनले भने, “हामीले सम्झौता अनुसार सबै लाइसेन्स छापिसकेका छौँ । लाइसेन्सको डेटा आउँदा फरक फरक जिल्ला र यातायात कार्यालयका डेटाहरू प्राप्त भएका थिए । अहिले हामी यातायात कार्यालय र अल्फाबेट अनुसार मिलाएर लाइसेन्स प्याकिङ गरिरहेका छौँ ।”
छापिएका लाइसेन्स सोमबार यातायात व्यवस्था विभागमा बुझाउने तयारी गरिएको उनले बताए । उनले भने, “हामी विभागलाई सम्झौता अनुसार १२ लाख लाइसेन्स बुझाइसक्छौँ ।”
केन्द्रको लाइसेन्स छपाइको विवरणबारे जानकारी दिने वेबसाइटमा पनि उक्त डेटा छिटै अपडेट गरिने उनले बताए । गत १२ कात्तिक २०८२ मा ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने गरी केन्द्र र विभागबिच सम्झौता भएको थियो । जसका लागि विभागले करिब ३० करोड रुपैयाँ केन्द्रलाई उपलब्ध गराउने बताइएको थियो ।
“हामीसँग आवश्यक डेटा पनि थिएन । यातायात विभागबाट डेटा पनि पाइसकेका थिएनौँ,” उनले भने । तर पछिल्लो एक महिनामा भने तीव्र गतिबाट लाइसेन्स छाप्ने काम सुरु गरिएको थियो । उनले भने, “वास्तवमा हाम्रो क्षमता ४० हजार प्रतिदिन छाप्न सक्ने हो । तर हामीले आठ/आठ घण्टाको दुई वटा सिफ्ट राखेर र सार्वजनिक बिदाका बेलामा पनि निरन्तर छापेर सम्झौताको समय अनुसार नै प्रिन्ट गरेर सकायौँ ।”
पहिलो सम्झौता अनुसार सबै लाइसेन्स बुझाएपछि दोस्रो चरणमा छपाई सुरु गर्ने तयारी केन्द्रले गरेको कार्यकारी निर्देशक ढुङ्गानाले जानकारी दिए । यातायात व्यवस्था विभागले छाप्न बाँकी रहेका १७ लाख पुराना ‘ब्याक लग’ लाइसेन्स छाप्ने गरि ४ वैशाखमा सम्झौता भएको थियो ।
अब छिट्टै बाँकी लाइसेन्स छाप्न सुरु गरेर असार मसान्तसम्म सबै ‘ब्याक लग’ लाइसेन्स छाप्ने योजना रहेको कार्यकारी निर्देशक ढुङ्गानाले बताए । उनले भने, “हामीसँग एक महिनासम्म लाइसेन्स छाप्न पुग्ने सामग्री छ । बाँकी सामग्रीको खरीद प्रक्रिया पनि अघि बढाइसकेका छौँ । असार मसान्तसम्म पुराना बाँकी सबै लाइसेन्स छापी सक्छौँ ।”
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ १०:४६
