काठमाडौँ । सरकारी सेवाहरूलाई एकीकृत रूपमा उपलब्ध गराउँदै आएको नागरिक एपले नयाँ अपडेट (भर्सन २.०.९५) सार्वजनिक गरेको छ । यसअन्तर्गत निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण अर्थात् ‘पीआईएस’ (Personnel Information System - PIS) रेकर्ड सिधै मोबाइलबाट पीडीएफ फर्म्याटमा डाउनलोड गर्न सक्ने सुविधा थपिएको छ ।
यसअघि निजामती कर्मचारीहरूले राष्ट्रिय किताबखानामा रहेको आफ्नो वैयक्तिक विवरण (सिट रोल) हेर्न वा प्रिन्ट गर्नका लागि सम्बन्धित वेबसाइट वा कार्यालयमा निर्भर रहनुपर्ने अवस्था थियो ।
अब भने कर्मचारीहरूले एपभित्र रहेको ‘किताबखाना’ (Kitab Khana) सेक्सनमा गएर आफ्नो विवरण डाउनलोड गरी सुरक्षित राख्न वा प्रिन्ट गर्न सक्नेछन् ।
राष्ट्रिय किताबखाना (निजामती) मा आबद्ध हजारौँ सरकारी कर्मचारीहरूका लागि यो फिचर निकै सहयोगी हुने सरकारको विश्वास छ । यस सुविधाले प्रशासनिक कामका लागि आवश्यक पर्ने व्यक्तिगत विवरण सङ्कलन गर्न लाग्ने समय र झन्झट कम गर्ने बताइएको छ ।
सम्बन्धित समाचार: ड्राइभिङ लाइसेन्स छापिएको जानकारी अब नागरिक एपमै हेर्न सकिने
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ १७:५६
