close

नेपालको आईटी क्षेत्रमा लगानी बढाउन चीन र जापानको चासो, नीतिगत सहजतामा राजदूतहरूको जोड

टेकपाना टेकपाना

बैशाख १४, २०८३ १९:२१

नेपालको आईटी क्षेत्रमा लगानी बढाउन चीन र जापानको चासो, नीतिगत सहजतामा राजदूतहरूको जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिनाले सोमबार नेपालका लागि चीन र जापानका राजदूतहरूसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएका भेटवार्ताहरूमा नेपालको सूचना प्रविधि क्षेत्रको विकास, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षामा द्विपक्षीय सहकार्य गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ ।

चिनियाँ राजदूत झाङ माओमिङले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीन सरकार सहकार्य गर्न इच्छुक रहेको जानकारी दिए । भेटका क्रममा राजदूत माओमिङले प्रविधिमा आधारित गुणस्तरीय उत्पादन, एआई र क्वान्टम प्रविधिको प्रयोगजस्ता क्षेत्रमा चीनले नेपालसँग सहकार्य गर्न सक्ने धारणा राखे ।

जवाफमा मन्त्री डा. तिमिल्सिनाले कनेक्टिभिटी, पूर्वाधार निर्माण र सूचना प्रविधिको माध्यमबाट सुशासनमैत्री सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेको बताए । दुई देशबिच साइबर सुरक्षा र दूरसञ्चारका क्षेत्रमा समेत थप सहकार्य गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, जापानी राजदूत माएडा तोरुसँगको भेटमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । भेटमा राजदूत तोरुले नेपालमा जापानी निजी क्षेत्रको लगानी भित्र्याउन नीतिगत र प्रक्रियागत सहजीकरणको खाँचो रहेको औँल्याए ।

विशेषगरी जापानको सूचना प्रविधि क्षेत्रमा कार्यरत नेपाली जनशक्तिको प्रशंसा गर्दै उनले नेपाली डायस्पोरा (प्रवासी) मार्फत वैदेशिक लगानी बढाउन र डिजिटल रूपान्तरणमा सीप एवं पुँजीको उपयोग गर्न सकिने सुझाव दिए । मन्त्री डा. तिमिल्सिनाले जापानसँगको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै एआई, साइबर सुरक्षा र दूरसञ्चारको विकासमा जापानी सहयोग नेपालको प्राथमिकतामा रहेको उल्लेख गरे ।

दुवै देशका राजदूतहरूसँगको भेटमा मन्त्री डा. तिमिल्सिनाले वर्तमान सरकार आफ्नो विकासको गन्तव्यबारे स्पष्ट रहेको र डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाहलाई सहज बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ १९:४६