काठमाडौँ । नेपाल टेलिकमले आफ्नो प्रिपेड सेवाअन्तर्गत उपलब्ध गराउँदै आएका २८ दिन समयावधिका सबै प्याकेजहरूलाई ३० दिनको बनाएको छ । टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार केही मूल्य समायोजनसहित ११ वैशाखदेखि मासिक प्याकेज ३० दिन अवधिको बनाइएको हो ।
यसअघि टेलिकमले आफ्नो लोकप्रिय ‘कम्बो-२९९ प्याक’ को समयावधि गत २४ चैतदेखि नै बढाएर ३० दिन कायम गरिसकेको थियो । अब अन्य सबै २८ दिने प्याकेजहरूमा पनि सोही नियम लागु भएको छ ।
योसँगै प्रिपेड ग्राहकले अब महिनामा एकपटक मात्र रिचार्ज गर्दा पुग्ने भएको छ । यसअघि २८ दिनमा प्याकेज सकिँदा महिनाको बाँकी दुई दिनका लागि छुट्टै रिचार्ज वा डेटा लिनुपर्ने झन्झट थियो । अब उही मूल्यमा थप दुई दिनको सेवा (डेटा, भ्वाइस र एसएमएस) प्राप्त हुने भएकाले ग्राहकलाई आर्थिक रूपमा समेत लाभ पुग्ने प्रवक्ता मानन्धरले बताए ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ १९:४८
