सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनीले माग्यो सीईओ, कसले दिन पाउँछन् आवेदन ?
बैशाख १४, २०८३ २२:४८
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । गत वैशाख ११ गते पहिलो पटक प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दरखास्त दिनुपर्नेछ ।
सीईओ पदका लागि आवेदन दिन उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ, व्यापार प्रशासन, वाणिज्यशास्त्र वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, सम्बन्धित उम्मेदवारसँग पूर्वाधारको क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ ।
इच्छुक व्यक्तिले दरखास्त दस्तुरवापत ५ हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको टेकुस्थित शाखामा रहेको कम्पनीको राजस्व खातामा जम्मा गरी सोको सक्कल भौचर संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ ।
दरखास्तका साथमा उम्मेदवारले आफ्नो विस्तृत वैयक्तिक विवरण, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू, नागरिकताको प्रतिलिपि र ५ हजार शब्दमा नबढ्ने गरी तयार पारिएको तीन प्रति व्यावसायिक कार्ययोजना खामबन्दी गरी पेश गर्नुपर्नेछ । सरकारी वा संगठित संस्थामा कार्यरत कर्मचारीको हकमा भने सम्बन्धित निकायको विभागीय स्वीकृति अनिवार्य गरिएको छ ।
सडक, पुल, भवन, जलविद्युत् आयोजना जस्ता ठूला पूर्वाधार तथा निर्माण परियोजनाहरू निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको यस सरकारी कम्पनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको छ ।
निजी क्षेत्रका निर्माण व्यवसायीले ठेक्का तोडेर छोडेका, दुई पटकसम्म बोलपत्र नपरेका वा अलपत्र परेका सरकारी आयोजनाहरू बिना प्रतिस्पर्धा (direct/single bidding) मा सम्पन्न गर्न सक्ने व्यवस्था गरिएको छ । सरकारले मेगा प्रोजेक्टहरू छिटो र प्रभावकारी रूपमा निर्माण गर्न आफ्नै कम्पनीमार्फत काम गर्ने योजना ल्याएपनि व्यावहारिक रूपमा कामविहीन भएको भन्दै आलोचना हुने गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले पनि निजी क्षेत्रको काम खोस्ने र बिना प्रतिस्पर्धा ठेक्का दिने नीतिले बजारलाई विकृत बनाउने भन्दै विरोध गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ २३:४
