close

नेपाली आईटी विद्यार्थीले ल्याए ‘पीडीएफ क्राफ्ट’ एप, इन्टरनेटबिनै डकुमेन्ट म्यानेज गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १७, २०८३ १५:२८

नेपाली आईटी विद्यार्थीले ल्याए ‘पीडीएफ क्राफ्ट’ एप, इन्टरनेटबिनै डकुमेन्ट म्यानेज गर्न सकिने

काठमाडौँ । इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बीएससी सीएसआईटी तेस्रो सेमेस्टरमा अध्ययनरत मौसम भट्टराईले पीडीएफ डकुमेन्ट व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले ‘पीडीएफ क्राफ्ट: पीडीएफ एडिटर एन्ड टुल्स’ नामक मोबाइल एप सार्वजनिक गरेका छन् । एप डेभलपमेन्टको सीप सिक्ने क्रममा भट्टराईले तयार पारेको यो एप गुगल प्ले स्टोरमा उपलब्ध छ ।

विद्यार्थी र प्रोफेसनलहरूले दैनिक रूपमा भोग्नुपर्ने पीडीएफ सम्बन्धी झन्झटलाई एउटै एपबाट समाधान गर्न यो विकल्प सहयोगी हुने उनको विश्वास छ ।

बजारमा उपलब्ध धेरैजसो पीडीएफ टुलहरूले फाइललाई क्लाउड वा बाह्य सर्भरमा अपलोड गरेर प्रोसेस गर्ने भए पनि भट्टराईलेले बनाएको यो एपले पूर्ण रूपमा अफलाइन काम गर्छ ।

एपभित्रका सबै प्रक्रिया प्रयोगकर्ताको मोबाइलमै (लोकल्ली) सम्पन्न हुने भएकाले डकुमेन्टको गोपनीयता र सुरक्षा शतप्रतिशत रहने उनको दाबी छ । “पीडीएफमा मानिसका महत्त्वपूर्ण र गोप्य कागजपत्रहरू हुन्छन् । धेरै अनलाइन टुलहरूले फाइललाई बाहिर सर्भरमा अपलोड गर्छन्, तर मेरो एपमा सबै काम फोनभित्रै हुन्छ । डकुमेन्ट मोबाइलभन्दा बाहिर कतै पनि नजाने भएकाले प्रयोगकर्ताले गोपनीयताका बारेमा ढुक्क भएर चलाउन सक्नुहुन्छ,” उनले भने ।

यस एप प्रयोग गरी प्रयोगकर्ताले धेरै पीडीएफ फाइललाई जोडेर एउटै बनाउन (मर्ज), ठुलो फाइलबाट निश्चित पेजहरू अलग गर्न (स्प्लिट), क्वालिटी नघटाई फाइलको साइज कम गर्न (कम्प्रेस) र इमेजलाई पीडीएफमा कन्भर्ट सक्नेछन् ।

यसका साथै डकुमेन्टमा डिजिटल सिग्नेचर गर्ने, वाटरमार्क राख्ने र पेजहरूको क्रम मिलाउने जस्ता एड्भान्स सुविधाहरू पनि एपमा समावेश छन् ।

कलेजका प्रोजेक्ट र असाइनमेन्टहरू तयार पार्दा आफैँले भोगेका समस्याहरूलाई आधार मानेर भट्टराईले यो एपको परिकल्पना गरेका हुन् । एपको साइज मात्र १० एमबी रहेकाले यो निकै हल्का र प्रयोग गर्न सजिलो छ ।

हाल नि:शुल्क रूपमा उपलब्ध यस एपमा विज्ञापनबाहेक अन्य कुनै अनधिकृत डेटा सङ्कलन नगरिने भएकाले प्रयोगकर्ताले ढुक्क भएर चलाउन सक्ने भट्टराईले बताए । आगामी दिनमा एपमा वर्ड र एक्सेल कन्भर्टरका साथै एआई फिचरहरू थपेर यसलाई अझै आधुनिक बनाउने उनको योजना छ । “अहिले म विद्यार्थी भएकाले यसको पेड प्रमोसन गर्ने अवस्था छैन । यदि तपाईंहरूले मेरो यो सानो प्रयासलाई साथ दिनुभयो र प्रतिक्रिया दिनुभयो भने मलाई थप नयाँ काम गर्न ठुलो प्रेरणा मिल्नेछ,” उनले भने ।

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८३ १७:६