close

जग्गाको रोक्का-फुकुवा अब अनलाइन प्रणालीबाट मात्र हुने

टेकपाना टेकपाना

बैशाख १८, २०८३ १३:५८

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितोबन्धकी रोक्का तथा फुकुवाको सम्पूर्ण कार्यलाई अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र गर्ने निर्णय गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विभागले सेवालाई पूर्णतः डिजिटल बनाउन यस्तो व्यवस्था लागु गर्न लागिएको जानकारी दिएको हो ।

सरकारको शासकीय सुधार सम्बन्धी कार्यसूची अनुसार ‘नतिजामा आधारित शासकीय प्रबन्ध’ लागु गर्न विभागले यो कदम चालेको हो । नयाँ व्यवस्था अनुसार अब सेवाग्राहीले जग्गाको रोक्का र फुकुवाका लागि भौतिक रूपमा उपस्थित भइरहनुपर्ने छैन ।

बैंकले अनलाइन प्रणालीबाट काम गर्ने भएकाले ऋणी/जग्गाधनी मालपोत कार्यालय धाउनु पर्दैन ।

यो व्यवस्था दुई चरणमा लागु हुने बताइएको छ । भूमी प्रशासन निर्देशिका अन्तर्गत तोकिएका बैंक तथा वित्तीय संस्थाले २१ वैशाखदेखि र १ जेठदेखि अन्य सबै 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा अनलाइन प्रणालीबाट जग्गा फुकुवा तथा रोक्काको काम गर्नुपर्ने छ ।

यो प्रणाली लागु भएपछि सेवा प्रवाह छिटो, सहज र बिचौलियामुक्त बन्ने सरकारको विश्वास छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८३ १६:७