close

जलेका सवारीका नाममा इन्धन दुरुपयोग भएको छैन, भ्रामक सूचना नफैलाउनू: स्वास्थ्य मन्त्रालय

टेकपाना टेकपाना

बैशाख २१, २०८३ २०:१२

जलेका सवारीका नाममा इन्धन दुरुपयोग भएको छैन, भ्रामक सूचना नफैलाउनू: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनका नाममा इन्धन दुरुपयोग भएको भनी सार्वजनिक समाचारहरूको खण्डन गरेको छ । सोमबार एक ‍विज्ञप्ति जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएका त्यस्ता समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो ।

मन्त्रालयले उक्त विषयलाई भ्रामक भन्दै सामाजिक सञ्जालमा यस्ता हल्ला नफैलाउन समेत आग्रह गरेको छ । केही दिनअघि विभिन्न सञ्चारमाध्यममा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले नष्ट भइसकेका सवारीको नाममा इन्धन सुविधा लिइरहेको समाचार प्रकाशित भएका थिए ।

समाचार सार्वजनिक भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्रालयले गत १५ भदौमा सहसचिवको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “उक्त समितिले जलेका सवारी साधन सम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख (अर्धकट्टी), भुक्तानी विवरण लगायतका सम्बन्धित कागजातहरूको अध्ययन तथा विश्लेषणका आधारमा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।”

छानबिनबाट इन्धन दुरुपयोग भएको पुष्टि नभएको जनाउँदै मन्त्रालयले अपुष्ट र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८३ २०:१२