close

पाथीभरा मन्दिर क्षेत्रमा टेलिकमको फोरजी सेवा सुरु, भक्तजनलाई क्यूआरबाटै भेटी चढाउने सुविधा

टेकपाना टेकपाना

बैशाख २२, २०८३ १३:१७

पाथीभरा मन्दिर क्षेत्रमा टेलिकमको फोरजी सेवा सुरु, भक्तजनलाई क्यूआरबाटै भेटी चढाउने सुविधा

काठमाडौँ । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । पाथीभरा क्षेत्र विकास समितिको पहलमा स्थापना गरिएको बीटीएस टावरको निर्माण कार्य सम्पन्न भएसँगै सोमबारदेखि मन्दिर क्षेत्रमा औपचारिक रूपमा फोरजी सेवा सुरु भएको हो । 

नेटवर्कको अभावमा विगतमा सञ्चार सम्पर्क गर्न कठिनाइ भोगिरहेका भक्तजनलाई यो सेवा सञ्चालनमा आएसँगै राहत मिलेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिको ६ मंसिर २०८० मा बसेको बैठकले सो क्षेत्ररमा सञ्चार सेवा विस्तार गर्ने, क्यूआर प्रणालीमार्फत अनलाइन दानको व्यवस्था गर्ने तथा भेटीपातीलाई डिजिटल माध्यमबाट दैनिक सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अनलाइन दान गर्न चाहने भक्तजनका लागि आवश्यक इन्टरनेट सेवा उपलब्ध गराउन दूरसञ्चार कार्यालय ताप्लेजुङलाई अनुरोध गरिएको समितिले जनाएको छ । 

फोरजी सेवा विस्तार भएसँगै अब मन्दिरमा पुग्ने दर्शनार्थीले सहज रूपमा सञ्चार सेवा प्रयोग गर्न सक्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उच्च गतिको इन्टरनेट उपलब्ध भएसँगै क्यूआर ‍प्रणालीमार्फत अनलाइन दान गर्न र मन्दिरको भेटीपाती व्यवस्थापनलाई थप पारदर्शी बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे ।

“इन्टरनेट सेवाको पहुँचले भेटीलाई डिजिटल माध्यमबाट दैनिक सार्वजनिक गर्न सहज हुनेछ,” कार्यकारी निर्देशक हाङबाङले भने । 

१५ मंसिर २०८० मा सम्पन्न सर्वपक्षीय अनुगमन तथा सुझावका आधारमा २० चैत २०८० मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), दूरसञ्चार कार्यालय इलामसँग सम्झौता गरिएको थियो । सम्झौता अनुरूप दुई वर्षमा बीटीएस टावर निर्माणको काम सम्पन्न भई फोरजी सेवा सुरु भएको हो ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८३ १३:५७