आईफोन-एन्ड्रोइड मेसेजिङमा इन्क्रिप्सन सुविधा, अब बिचमा कसैले पनि मेसेज पढ्न नसक्ने
बैशाख २२, २०८३ १६:८
काठमाडौँ । एप्पलले आईओएस २६.५ मार्फत आईफोन र एन्ड्रोइड (गुगल मेसेज) बीच ‘इन्ड-टु-इन्ड इन्क्रिप्टेड आरसीएस मेसेजिङ’ फिचर थप्ने भएको छ । एप्पलले सोमबार डेभलपर टेस्टरका लागि सार्वजनिक गरेको अपडेटमा यस्तो फिचर देखिएको हो ।
यस अपडेटको चेन्जलगमा उल्लेख गरिए अनुसार मेसेज एपमा उपलब्ध हुने यो इन्ड-टु-इन्ड इन्क्रिप्टेड आरसीएस म्यासेजिङ (बिटा) सपोर्ट गर्ने टेलिकम नेटवर्क (क्यारियर) हरूमा उपलब्ध हुनेछ । र, समयसँगै सबै प्रयोगकर्तामाझ विस्तार हुने कम्पनीले जनाएको छ ।
यो फिचर गत फेब्रुअरी महिनादेखि परीक्षणको क्रममा थियो । ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन्स (जीएसएमए) को ‘आरसीएस युनिभर्सल प्रोफाइल’ अन्तर्गत रहेको यो सुरक्षा फिचर लागु भएपछि एन्ड्रोइड र आईओएस प्रयोगकर्ताबिच आदानप्रदान हुने मेसेज फोन-टु-फोन इन्क्रिप्ट हुनेछन् । जसलाई बीचमा अरू कसैले पढ्न वा हेर्न सक्ने छैनन् ।
यो फिचर पूर्ण रूपमा उपलब्ध भइसकेपछि आईफोनको मेसेज एपमा एन्ड्रोइड प्रयोगकर्तासँगको च्याटको बीच भागमा ‘लक’ आइकनसहित ‘Text Message · RCS | Encrypted’ लेखिएको देखिनेछ । त्यस्तै, एन्ड्रोइडको गुगल मेसेजमा पनि अन्य एन्ड्रोइड प्रयोगकर्तासँग च्याट गर्दा जस्तै लकको आइकन देखिनेछ ।

यसको प्रयोग गर्नका लागि आईफोन प्रयोगकर्ताले सेटिङ्सभित्र म्यासेजे हुँदै आरसीएस म्यासेजिङ (RCS Messaging) मा गएर “End-to-End Encryption (Beta)” अन भएको सुनिश्चित गर्नुपर्नेछ (यद्यपि यो डिफल्ट रूपमै अन भएको हुन्छ) । साथै, यो फिचर चलाउन एन्ड्रोइड फोनमा भने ‘गुगल मेसेज’ एपको लेटेस्ट भर्सन इन्स्टल भएको हुनुपर्नेछ ।
एप्पलले नयाँ फिचरसहितको आईओएस २६.५ आगामी एक हप्ताभित्र सार्वजनिक गर्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८३ १६:२४
