close

नेपाली स्टार्टअप टिङटिङको एआईमा आधारित सञ्चार प्रणाली अब श्रीलङ्कामा

टेकपाना टेकपाना

बैशाख २३, २०८३ ७:५७

नेपाली स्टार्टअप टिङटिङको एआईमा आधारित सञ्चार प्रणाली अब श्रीलङ्कामा

काठमाडौँ । नेपालको प्रविधि कम्पनी टिङटिङ (TingTing) ले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको छ । यसक्रममा टिङटिङले श्रीलङ्काको इफेक्टिभ सोलुसनसँग व्यावसायिक सञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा दिने सम्झौता गरेको छ ।

इफेक्टिभ सोलुसनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा आधुनिक प्रविधि प्रयोग गर्न चाहनेहरूलाई सेवा दिँदै आएको छ । यो कम्पनी श्रीलङ्काको 'ट्रेस' नामक सार्वजनिक संस्थामा सूचीकृत छ । ट्रेसले श्रीलङ्कामा नयाँ व्यवसाय, आविष्कार र उद्यम गर्न चाहनेहरूलाई सहयोग गर्दै आएको छ ।

टिङटिङले श्रीलङ्कामा कार्यालय स्थापना गरेर त्यहाँका ग्राहकलाई सेवा दिने योजना अगाडि बढाइसकेको छ । नेपालमा यस कम्पनीले बैंक, बीमा, इन्टरनेट सेवा प्रदायक, सरकारी निकाय तथा विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्दै आएको छ ।

टिङटिङका सीईओ मनिष शर्माले नेपालबाट प्रविधि निर्यात गर्ने सरकारी लक्ष्यअनुरूप कम्पनीले काम गरिरहेको बताए। उनले भने, “हामी विश्वव्यापी रूपमा आफूलाई विस्तार गर्ने योजना बनाइरहेका छौँ । यो त्यही अभियानको एउटा पाइला हो । सरकारले नेपालबाट आईटी र प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने सोच बनाएको छ, जसमा नेपालको प्रतिनिधित्व गरेर सेवा विस्तार गर्न पाउँदा हामीलाई गर्व लागेको छ । नेपालमा रोजगारी सिर्जनाका लागि आईटी र प्रविधि क्षेत्रको विस्तार जरुरी छ ।”

इफेक्टिभ सोलुसन्सका निर्देशक हमिन्दा जयवेराले एआईमा आधारित सेवा तथा समाधान उपलब्ध गराउने नेपाली कम्पनीसँग सहकार्य गर्न पाउनु खुसीको विषय भएको बताए । यस सहकार्यले श्रीलङ्काका उद्यमी र सेवा प्रदायकहरूलाई ठुलो लाभ मिल्ने उनले विश्वास व्यक्त गरे ।

हाल श्रीलङ्कामा धेरैजसो व्यवसायहरूले ग्राहकसँग टेलिफोन, टेक्स्ट, सामाजिक सञ्जाल, ईमेल, वेब संवाद तथा कल सेन्टरमार्फत छुट्टाछुट्टै रूपमा सम्पर्क गर्दै आएका छन् । यसका कारण सन्देश छुट्ने, उत्तर दिन ढिलाइ हुने, ग्राहकको अघिल्लो सन्दर्भ (कन्टेक्स्ट) हराउने, कलको चाप बढ्ने तथा सेवाको गुणस्तरबारे स्पष्ट जानकारी नहुने जस्ता समस्या देखिएका छन् ।

यिनै चुनौती समाधान गर्न एआईमा आधारित सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार गरेको टिङटिङले जनाएको छ । 'टिङटिङ सुइट' (TingTing Suite) अन्तर्गत कल ब्रोडकास्ट, टेक्स्ट, फर्म्स, एजेन्ट्स, ओम्नी र कनेक्ट जस्ता सेवा उपलब्ध छन्।

यी सेवाले ग्राहकसँगको सम्पर्क, प्रतिक्रिया सङ्कलन, बहु-माध्यम संवाद व्यवस्थापन तथा कल सेन्टर सञ्चालनलाई एउटै प्रणालीमार्फत व्यवस्थापन गर्न सहयोग पुर्‍याउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस प्रणालीमार्फत प्रत्येक कलको रेकर्डिङ, ट्रान्सक्रिप्सन, भावना विश्लेषण (Sentiment Analysis), एआईद्वारा तयार पारिएको सारांश, ड्यासबोर्ड तथा सम्पूर्ण संवादको स्पष्ट तथ्याङ्क प्राप्त गर्न सकिने बताइएको छ ।

यसअघि टिङटिङले 'वेब समिट कतार' मा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो प्रविधि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो ।

 

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ १०:५८