आगामी नीति तथा कार्यक्रम र बजेटका लागि सरकारलाई सुझाव दिन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यो पोर्टल
बैशाख २६, २०८३ १९:३२
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।
आगामी सोमबार सार्वजनिक हुने सरकारको नीति तथा कार्यक्रममा जनताका आवश्यकता र अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको हो ।
पोर्टलमार्फत देश-विदेशमा रहेका नागरिक, विषयविज्ञ र नीति निर्माताहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा राय-सुझावहरू सिधै सरकारसमक्ष पेश गर्नसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस लिङ्कमा गएर सुझाव दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ ।
प्रणालीमा सुझाव दिने व्यक्तिले आफ्नो सुझावको पछिल्लो अवस्था र सरकारले चालेको कदमका बारेमा जानकारी लिन सक्ने गरी ‘सुझाव ट्र्याक’ सुविधा समेत समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ १९:४९
