close

“नीति तथा कार्यक्रममा ‘विज्ञान’ भन्ने शब्द नै छैन, सरकारलाई विज्ञानसँग किन यति साह्रो रिस ?”

टेकपाना टेकपाना

बैशाख २९, २०८३ १६:४७

“नीति तथा कार्यक्रममा ‘विज्ञान’ भन्ने शब्द नै छैन, सरकारलाई विज्ञानसँग किन यति साह्रो रिस ?”

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उपेक्षा गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सोमबार राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममा 'विज्ञान' भन्ने शब्द नै नभएको भन्दै सरकारको सोचमाथि प्रश्न उठाएका छन् । उनले विज्ञान र प्रविधिबिना देशको अर्थतन्त्र अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।

सुशासन र विकासलाई गाडीको संज्ञा दिँदै पुनले त्यसको 'इन्जिन' भनेको विज्ञान, प्रविधि र अनुसन्धान भएको बताए । "तपाईंहरूले सुशासन ल्याएर एकदमै राम्रो गाडी बनाउन खोज्नुभएको छ, तर त्यो गाडीमा इन्जिन नै हालिएन भने कसरी गुड्छ ?" उनले प्रश्न गरे, "अर्थतन्त्रको इन्जिन भनेकै विज्ञान, प्रविधि र नवप्रवर्तन हो, यो कुरा किन नबुझेको ?"

सांसद पुनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र नवप्रवर्तनका लागि छुट्ट्याउनुपर्ने आफ्नो पुरानै माग दोहोर्‍याएका छन् । उनले आगामी बजेटमा यो विषय नसमेटिए संसद्मा निरन्तर आवाज उठाइरहने चेतावनी समेत दिए ।

"मैले खोजेको त जीडीपीको १ प्रतिशत बजेट रिसर्च इनोभेसनमा छुट्ट्याइयोस् भन्ने हो, जीडीपीको नसक्ने भनिसकेपछि यो पुँजीगत खर्चको १ प्रतिशत भन्ने कुरा अहिलेको बजेटमा आउनैपर्छ । अहिलेको बजेटमा आएन भने फेरि म यो संसद्मा बारम्बार हल्ला गरिरहन्छु, त्यो चाहिँ आओस्, हेर्नुहोस् । यो कुरा मैले अहिले नै जानकारी दिएँ," उनले भने ।

पुनले विश्वविद्यालयहरूलाई राजनीतिकरणबाट मुक्त गर्न प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्नेमा जोड दिए । सरकारले ल्याएको अध्यादेशमा आफूले दिएको सुझाव विपरीत अझै पनि प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था राखिएकोमा उनले असन्तुष्टि जनाए ।

त्यस्तै, विज्ञान र प्रविधिका लागि छुट्टै शक्तिशाली मन्त्रालय हुनुपर्ने र त्यसको नेतृत्व सम्बन्धित क्षेत्रकै विज्ञले गर्नुपर्ने उनको माग छ । "अहिले प्राधिकरण बनाएर चलाउने कुरा भइरहेको छ, खर्च बढ्छ भन्दै मन्त्रालय नखोल्ने बहानाबाजी स्वीकार्य छैन," पुनले थपे, "अन्य मन्त्रालयहरू प्राधिकरणबाट चल्न सक्छन् भने यो किन सक्दैन ? यो त प्राथमिकताको कुरा हो ।"

विगतका सरकारहरूले विज्ञानको महत्त्व नबुझेको भए पनि वर्तमान सरकारमा युवाहरूको बाहुल्यता रहेकाले आफू आशावादी रहेको तर परिणाम निराशाजनक आएको उनले बताए । विज्ञान प्रविधि सरकारको प्राथमिकतामा नपरेको आक्रोशको झोँकमा आफूले सोमबार बेलुकी सामाजिक सञ्जालमा नेताहरूलाई सरापेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारले आफ्नो नीति सच्याएमा मात्रै देशले गति लिने उल्लेख गरे ।

पुनले विद्यालयहरूमा कम्प्युटर शिक्षकको दरबन्दी थप गर्ने र कक्षा ८ देखि नै कम्प्युटर विषयलाई अनिवार्य गरी प्रविधिमैत्री शिक्षा दिनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ १७:५