close

‘एआईको जमानामा पनि हाम्रो संसद् कर्मकाण्डी भयो, २ मिनेटमा हुने कामलाई २ घण्टा लगायौँ’

टेकपाना टेकपाना

जेठ ४, २०८३ १६:९

‘एआईको जमानामा पनि हाम्रो संसद् कर्मकाण्डी भयो, २ मिनेटमा हुने कामलाई २ घण्टा लगायौँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले नेपालको संसदीय अभ्यास प्रविधिमैत्री हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद आचार्यले बाहिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटलाइजेसनका ठुला कुरा गरे पनि संसद्‍मा प्रविधिको न्यूनतम प्रयोग समेत हुन नसकेको बताए ।

“आज आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा हामी बाहिर डिजिटलाइजेसन र ई-गभर्नेन्सका लामा भाषण गर्छौँ, तर हाम्रो आफ्नै संसदीय अभ्यासमा प्रविधिको न्यूनतम प्रयोग पनि छैन । हाम्रा विधि र प्रक्रिया यति कर्मकाण्डी छन् कि कोही सांसद यहाँ ननिदाइ बस्छ भने उसलाई त सम्मान नै गर्नुपर्ने स्थिति छ,” उनले भने ।

सांसद आचार्यले संसद्‍मा मतदानको प्रक्रिया झन्झटिलो हुँदा समयको दुरुपयोग भइरहेको उदाहरण पेश गरे । ई-भोटिङको व्यवस्था नहुँदा सामान्य प्रक्रियामा पनि घण्टौँ लाग्ने गरेको उनको तर्क थियो ।

“केही दिनअघि नीति तथा कार्यक्रममाथिको संशोधन पास वा फेल गर्न लागेको समयलाई नै सम्झौँ न,” उनले थपे, “ई-भोटिङमार्फत दुई मिनेटमा टुङ्गिने प्राविधिक विषयलाई हामीले दुई घण्टा लगायौँ । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो, हाम्रो पद्धतिमा परिवर्तन जरुरी छ ।”

आचार्यले सांसदहरूको उपस्थितिको डिजिटल ट्रयाकिङ हुनुपर्ने र उनीहरूको कार्यसम्पादनलाई ‘की पर्फमेन्स इन्डिकेटर’ (केपीआई) का आधारमा मूल्यांकन गर्नुपर्ने प्रस्ताव समेत गरे ।

 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ १६:१२