close

पर्यटन प्रवर्द्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई नेपाल घुमाइने, दूतावासले माग्यो आवेदन

टेकपाना टेकपाना

जेठ ६, २०८३ १९:७

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतका सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको पर्यटकीय क्षेत्र भ्रमण गराइने भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै इच्छुक भारतीय डिजिटल कन्टेन्ट क्रिएटरहरूबाट आवेदन आह्वान गरेको हो ।

यस कार्यक्रम अन्तर्गत दूतावासले कुल पाँच जना भारतीय इन्फ्लुएन्सरहरूलाई छनोट गर्नेछ । छनोट भएका क्रिएटरहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल, होटल-हस्पिटालिटी र साहसिक पर्यटकीय क्षेत्रहरूको भ्रमण गराइने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यस भ्रमणको मुख्य उद्देश्य भारतीय पर्यटकहरूलाई नेपालप्रति आकर्षित गर्नु हो । डिजिटल माध्यमबाट नेपालका हिमाल, ताल, सम्पदा, मन्दिर, गुम्बा र स्थानीय संस्कृतिलाई भारतीय दर्शकमाझ पुर्‍याएर नेपाललाई एक सुलभ र नजिकको पर्यटकीय गन्तव्यका रूपमा चिनाउने लक्ष्य राखिएको छ ।

भ्रमणमा सहभागी हुने क्रिएटरहरूले नेपालको अनुभवका आधारमा उच्च गुणस्तरका ट्राभल भ्लग, रिल्स, शर्ट्स, पोडकास्ट र सामाजिक सञ्जाल पोस्टहरू तयार गरी अपलोड गर्नुपर्नेछ । साथै, उनीहरूले कम्तीमा एउटा भिडियो टेस्टिमोनियलमार्फत भारतीय पर्यटकहरूलाई नेपाल जान प्रोत्साहन गर्नुपर्नेछ ।

इच्छुक कन्टेन्ट क्रिएटरहरूले आगामी ३० मे २०२६ सम्ममा दूतावासको आधिकारिक ईमेल [email protected] मा आवेदन दिन सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ १९:८