संसद बैठकको फोटो खिचेको निहुँमा सांसदलाई बाहिर निकालिएको भन्दै कांग्रेसको आपत्ति
जेठ १२, २०८३ १७:४०
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सभामुखको आदेश र रुलिङबिना नै मर्यादापालकहरूले सांसदलाई बाहिर निकालेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले बैठक कक्षभित्र फोटो खिचेको भन्दै तीन जना मर्यादापालकले उनलाई बाहिर निकालेका थिए । सोही विषयलाई लिएर सांसद निश्कल राईले सदनमा नियमापत्ति गर्दै यो कदम प्रतिनिधिसभा नियमावलीको बर्खिलाप रहेको बताए ।
सांसद राईले नियमावलीको नियम ३० र ३१ उध्दृत गर्दै सभामुखको आदेशबिना मर्यादापालकले सांसदलाई बाहिर निकाल्न नमिल्ने जिकिर गरे । “सभामुखले सांसदलाई पहिले सचेत गराउने हो । यदि सचेत गराउँदा पनि नमानेमा मात्र नियम ३१ अनुसार बाहिर निकाल्ने आदेश दिने हो,” राईले भने, “तर यहाँ सभामुखको आदेश र रुलिङबिना नै मर्यादापालकले सांसदलाई बाहिर निकाले, जुन यो सदनको गरिमा र नियमावलीविपरीत छ ।”
सांसद सेन्दाङले आफूलाई बैठकमा फोटो खिच्न नहुने नियमबारे जानकारी नभएको र मर्यादापालकले बाहिर लगेर फोटो डिलिट गर्न लगाएको बताइन् । उनले भनिन्, “मैले फोटो खिचेपछि उहाँहरूले बाहिर जानुस् भन्नुभयो, बाहिर लगेर फोटो डिलिट गराएपछि म पुनः भित्र आएँ ।”
त्यसको जवाफ दिँदै सभामुख अर्यालले सांसद सेन्दाङले बैठकको मर्यादाविपरीत फोटो र भिडिओ खिचेकाले आफूले नै चेकजाँचका लागि निर्देशन दिएको बताए ।
“माननीय सदस्य गीताकुमारी सेन्दाङले सभामुखतर्फ स्पष्ट देखिने गरी आफ्नो मोबाइलबाट भिडिओ र फोटो खिच्ने प्रयास गर्नुभयो । त्यो यहाँहरूले बुझेकै नियमावलीको नियम र सभा सञ्चालनको मर्यादाभन्दा विपरीत थियो,” सभामुख अर्यालले सदनमा भने, “त्यसैकारण सभामुखले आफ्नो ड्यासबाट मर्यादापालकलाई उहाँले मोबाइलमा फोटो, भिडिओ खिचेको हो वा होइन भनेर चेकजाँच गर्न निर्देशन दिएको हो ।”
उनले सांसदलाई बैठकबाट निष्कासन नगरिएको दाबी गर्दै तथ्यलाई बंग्याएर प्रस्तुत नगर्न आग्रह गरे । “उहाँलाई बाहिर निकालिएको होइन, नियमविपरीत खिचिएको सामग्री चेकजाँच गर्न पठाइएको हो । यस विषयलाई लिएर तथ्यलाई तोडमोड नगर्न म आग्रह गर्दछु,” उनले थपे ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ १७:५०
