close

वानप्लस एटमा होला त १२० हर्जको रिफ्रेस रेट स्क्रिन प्यानल ?

टेकपाना टेकपाना

पुस २८, २०७६ १८:१९

वानप्लस एटमा होला त १२० हर्जको रिफ्रेस रेट स्क्रिन प्यानल ?

एजेन्सी । २०१९ मा ग्याजेटहरुको मुल ट्रेण्ड नै ‘हाई रिफ्रेस रेट प्यानल’ रह्यो । अहिले अधिकांश फोन निर्माणकर्ताले आफ्ना उत्पादनमा ९० हर्जको डिस्प्ले उपलब्ध गराइरहेका छन् ।

यो ट्रेन्ड निरन्तर रहेर २०२० सम्म एक सय २० हर्जसम्म पुग्ने अपेक्षा गरिएको छ । साओमीको रेड्मी के थर्टीमा एक सय २० हर्जको डिस्प्ले रहेको छ भने सामसङको ग्यालेक्सी एस ट्वान्टीमा पनि यही स्तरको प्यानल प्रयोग गरिएको दाबी गरिँदै आएको छ ।

वानप्लसका सीईओ पेटे लाउले वाइबोमार्फत कम्पनीले एक सय २० हर्जको डिस्प्लेको अनुसन्धान र विकास सम्पन्न गरिसकेको खुलासा गरेका छन् । वानप्लसले उक्त प्रविधिको प्रदर्शनका लागि चीनमा स्क्रिन टेक्नोलोजी कम्युनिकेसन मिटिङको आयोजना गर्दैछ ।

गत वर्ष वानप्लसले आफ्ना अधिकांश फोनहरुमा ९० हर्जको प्यानल राखेको थियो । यसकारण पनि कम्पनीले २०२० मा एक सय २० हर्जको प्रविधिमा जाने कुराको सम्भावना प्रबल देखिन्छ ।

वान प्लस एटमा एक सय २० हर्जको रिफ्रेस रेट हुन्छ वा हुँदैन भन्ने कुरा स्पष्ट हुन अझै केही हप्ता कुर्नु पर्ने देखिन्छ । तर लाउको पोस्टले भने वान प्लस ८ मा त्यो फिचर रहने संकेत दिएको छ । उच्च रिफ्रेस रेट हुँदा डिस्प्लेमा तस्विर तथा ग्राफिक्स उच्च गणस्तरीय देखिने हुन्छ । सामान्यतया बजारमा रहेका अधिकांश स्मार्टफोनमा ६० हर्जको रिफ्रेस रेट रहेको हुन्छ ।

जनवरी १३ मा सेन्जेन प्रान्तमा आयोजना हुने स्क्रिन टेक्नोलोजी कन्फ्रेन्समा वानप्लसले ल्याउन लागेको अन्य नयाँ प्रविधि पनि हेर्न पाइने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०