काठमाडौं । सामान्यतया हामी सबैलाई साओमीले हाल पाइरहेको उपलब्धिले लोभ्याइरहेको हुनुपर्छ । किनभने छोटो समयमा साओमी सामसङ, एप्पलजस्ता स्मार्टफोन ब्राण्डलाई पछि पार्दै यो वर्ष विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड बन्न सफल भएको छ ।
यति हुँदा पनि अमेरिकी बजारमा भने साओमीको उपस्थिति राम्रो हुन सकेको छैन । ‘सबैका लागि स्मार्टफोन’ भन्ने उद्देश्य लिएर कम्पनीले सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त फोन सार्वजनिक गर्दै आएको छ, जुन अन्य ब्राण्डले पछ्याउन सकेका छैनन् ।
जसले गर्दा पनि कम्पनीले हरेक वर्ष आफूलाई अझ परिष्कृत गर्दै आइरहेको छ । कम्पनीले आफ्ना उत्पादनलाई एक अर्कासँग छुट्याउनका लागि विभिन्न सब-ब्राण्डमा मोबाइल बजारमा ल्याउने गरेको छ ।
त्यसमध्ये ‘मि’ अर्थात् ‘Mi’ ब्राण्ड हामी सबैले सुन्दै आएका छौं । जुन आजभन्दा १० वर्षअघि सुरु भएको थियो । तर, कम्पनीले अब उक्त १० वर्षे यात्रालाई रोक्ने तयारी गरेको छ ।
कम्पनीले ‘मि’ सब-ब्राण्डलाई छाडेर नयाँ ब्राण्डिङको सुरुवात गरेको छ । जसको सुरुवात भर्खरैमात्र सार्वजनिक भएको ‘साओमी मिक्स ४’ स्मार्टफोनबाट भएको छ । भने, आगामी दिनमा कम्पनीले सार्वजनिक गर्ने नयाँ प्रडक्टमा पनि यही रणनीतिलाई अपनाउने जनाएको छ ।
साओमी बढी स्मार्टफोनका लागि चर्चित भएता पनि कम्पनीले स्मार्टहोम, लाइफस्टाइल र कम्प्युटिङ क्याटेगोरीमा पनि विभिन्न उत्पादन निर्माण गर्दै आएको छ । जसमा टेलिभिजन, ल्यापटप, रेफ्रिजेरेटर, एयर फायर, स्मार्टवाच, स्कुटर, रोबोट, हेयर ड्रायरलगायतका प्रडक्ट रहेका छन् ।
हालसम्म यी सबै उत्पादनमा मि ब्राण्ड प्रयोग हुँदै आएको छ । तर, अब भने त्यस्तो हुने छैन । हाल कम्पनी विश्वका सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड बन्दा प्रयोगकर्ताले साओमी नभएर ‘मि’को रुपमा चिनिरहेका छन् । यस्तोमा कम्पनीले ‘साओमी’ लाई अब ब्राण्डिङ गर्ने तयारी गरेको हो ।