close

अपाङ्गता भएका व्यक्तिका लागि ‘बचाउ’ एप

टेकपाना टेकपाना

भदौ ९, २०७८ १२:२५

अपाङ्गता भएका व्यक्तिका लागि ‘बचाउ’ एप

काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरुको सहजतालाई मध्यनजर गर्दै एक मोबाइल एप सुरुवातमा ल्याइएको छ । ‘बचाउ’ नामक उक्त एपको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुले पनि अरु सरह विपतको सामना गर्नसक्ने अनुमान गरिएको छ ।

यूएसएआईडीको तयार नेपाल परियोजनाको सहयोगमा ‘अतुल्य फाउण्डेसन’ ले ‘बचाउ’ तयार पारेको हो ।

उक्त मोबाइल एप विशेषगरी कम सुन्ने (सुस्त श्रवण भएका) व्यक्तिलाई लक्षित गरी निर्माण गरिएको भएपनि सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई आकस्मिक सेवामा सहयोग पुग्ने जनाइएको छ ।

एप्लिकेसनको प्रयोग गरी कम सुन्ने समस्या भएका व्यक्तिले आफूलाई परेको समस्याका बारेमा एपमार्फत प्रहरी, दमकल वा एम्बुलेन्सलाई जानकारी गराउन सक्ने परियोजनाले जनाएको छ ।

एप्लिकेसनमार्फत सहयोगका लागि अपिल गर्दा प्रहरीले सहयोग आवश्यक पर्ने व्यक्ति रहेको वा घटना भएको स्थानसमेत जानकारी पाउँछ । जसले गर्दा सहजिकरणका लागि छिटो हुने अनुमान गरिएको छ ।

एप सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष पल्लव पन्तका अनुसार नेपालका सरकारी र गैरसरकारी निकाय अपाङ्गमैत्री नभएको अवस्थामा सानो प्रयासस्वरुप बचाउ एप सार्वजनिक गरेको जनाइएको छ ।

विपद व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दा अपाङ्गता भएका मात्र नभइ सबैलाई यो फलदायी हुने दाबी गरेका छन् । प्रविधिसँग अपा‌ङ्गता भएका व्यक्तिलाई विपदको जोखिमबाट बच्न र जोखिम न्युनिकरण गर्न सजिलो हुने अपेक्षा लिइएको जनाइएको छ ।

कार्यक्रममा गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले प्रविधिको प्रयोगले विपदमा परेका मानिसको सहयोग गर्न प्रभावकारी हुने जनाएका छन् ।

प्रविधिको प्रयोगमा अपाङ्गता भएका व्यक्तिहरु प्राय सक्षम नहुने भएकाले संकेत वा चित्रहरुको प्रयोगबाट पनि सहजै सूचना प्रवाह गर्न जोड दिनुपर्ने छ । उनीहरूले नेपाल प्रहरी, एम्बुलेन्स र दमकललगायतका आपतकालीन सहयोग गर्ने निकायबीच सूचनामा समन्वय गर्न सके सूचना प्रवाह अझै प्रभावकारी हुने अनुमान गरिएको छ ।

आपतकालीन अवस्थामा विभिन्न निकायमा खबर गरेर जस्तोसुकै समस्यामा पनि सहयोग पाइन्छ भन्नेबारेमा सचेतनाको आवश्यक रहेकोमा उनीहरूले जोड दिए । बेटा भर्जनमा उपलब्ध उक्त एप चाँडै नै परिस्कृत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइने फाउण्डेसनले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१