काठमाडौं । कोभिड-१९ का कारण विगत दुई वर्षदेखि विद्यालय शिक्षा निकै प्रभावित बनेकाे छ । विद्यालय कहिले खुल्ने, कहिले बन्द हुने, कहिले अनलाइन क्लास हुने त कहिले पुरै पठनपाठन नै बन्द हुने भइरहेको छ ।
यसरी अव्यवस्थित शिक्षा प्रणाली र विश्वव्यापी महामारीको चपेटामा विद्यार्थीहरु नराम्ररी फसेका छन् । शिक्षा क्षेत्रमा यस्तो चुनाैती निरन्तर देखिँदा आउने पुस्ताको भविष्य कस्तो होला त ?
हुन त सरकारले शैक्षिक सत्रलाई प्रभावित हुन नदिन वैकल्पिक सिकाइका माध्यबाट पढाइ सञ्चालन गर्न अनुमति दिएकाे छ ।
यसको अर्थ अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिन थालेकाे छ । जसकाे प्रतिफल नेपालमा विभिन्न विश्वविद्यालय, क्याम्पस तथा विद्यालयमा डिजिटल तथा अनलाइन शिक्षाको अभ्यास बढिरहेको छ ।
अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न प्रविधि स्वदेशकै कम्पनीहरुले विकास गर्न थालेका छन् । शैक्षिक संस्थाले पनि त्यस्ता प्रविधिको प्रयोगमा ल्याउन थालेका छन् ।
तर, त्यसरी प्रयाेगमा आएका धेरैजसाे प्रविधि अनलाइन अर्थात इन्टरनेटमा आधारित छन्, जुन नेपालकाे परिवेश सुहाउँदाे नभएकाे तर्क गर्न थालिएकाे छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेकाे जेठ महिनाकाे प्रतिवेदनअनुसार देशमा हाल कुल जनसंख्याकाे ९१ प्रतिशतमा इन्टरनेट पुगिसकेकाे छ ।
तथ्याङ्कले इन्टरनेट पहुँच बढेकाे देखाएता पनि अझै पनि देशका आधाभन्दा बढी शैक्षिक संस्था अनलाइन कक्षाका लागि तयार छैनन् । उनीहरू आवश्यक गुणस्तरकाे इन्टरनेटभन्दा बाहिरै छन् ।
यस्तो अवस्थामा अनलाइन कक्षा सोचेजस्ताे प्रभावकारी हुन सकेकाे छैन । अर्कोतर्फ अनलाइन कक्षाकाे लागि आवश्यक पूर्वाधार (ल्यापटप, मोबाइल) पनि सबैको पहुँचमा छैन ।
इन्टरनेट र पूर्वधारकाे उपलब्धता हुनु त परको कुरा, अनलाइन कक्षा सञ्चालनका लागि प्रविधिसँग अभ्यस्त शिक्षकहरुको कमी छ ।
पुरानो शिक्षा प्रणालीबाट अचानक यसरी नयाँ प्रविधिसँग घुलमिल हुन शिक्षक आफैं सकिरहेका छैनन् । यसरी शिक्षक नै पोख्त नभई दिइएको शिक्षाबाट कस्तो उपलब्धिको अपेक्षा गर्ने सकिएला ? प्रश्न सोचनीय छ ।
समय अनुसारको प्रविधिअनुकूल शैक्षिक तालिम र नीतिगत व्यवस्था गर्न नसक्नुले नेपालको शैक्षिकस्तर खस्केको छ । यसरी आउने विपद्हरुबाट निम्तिने नोक्सानी र घाटाको जिम्मा कसैले लिएको अवस्था छैन । नोक्सानीको भागिदार भने लगातार विद्यार्थी र अभिभावक नै बनेका छन् ।
अहिलेको अवस्थामा देखिएका समस्याभन्दा यसको परिणामले निम्त्याउन सक्ने क्षति अस्वभाविक हुने देखिन्छ । यस्ताेमा सरकारको गतिविधिलाई हेर्दा पहल नै नभएको भने होइन ।
तर उपयुक्त प्रयास चाहिँ नभएकै देखिन्छ । विद्यार्थीहरुको शैक्षिक अभिवृद्दिका लागि रेडियो तथा टेलिभिजनबाट कक्षा सञ्चालन पनि गरियो । तर, त्याे पनि प्रभावकारी भएकाे छैन ।
त्यसो त समस्या आउँदा समाधानको उपाय पनि सँगै लिएर आउँछ भनिन्छ । यस पटकको महामारीले धेरै कुरा सिकाएको छ । धेरै काममा नँया प्रविधिकाे प्रयाेग हुन थालेकाे छ ।
ग्रामीण भेगहरुमा इन्टरनेटको राम्रो पहुँच नभएकाले सरकार र निजी क्षेत्रको समन्वयमा विद्यार्थीहरुलाई अफलाइन क्लास उपलब्ध गराउने प्रयास भइरहेको छ । अफलाइन कक्षा कम खर्चिलो हुनुका साथै थप प्रभावकारी हुने देखिन्छ ।
गण्डकी प्रदेशले ग्रामीण भेगको शैक्षिक प्रणालीमा उदाहरणीय कदम चालेको छ । गत शनिवार गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामग्रीको परीक्षण (अफलाइन मोबाइल एपका माध्यमबाट कक्षा सञ्चालनका लागि डेमो प्रस्तुति) तथा उद्घाटन गरेको छ ।
स्याङ्जाकाे भीरकोट नगरपालिका २ स्थित दहथुम माध्यमिक विद्यालयबाट याे अफलाइन एपको डेमो परीक्षण गरिएको हाे । परीक्षण प्रभाकारी भएमा गण्डकी प्रदेशका एक हजार ४ सय ४८ वटा विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका करिब ३ लाख ६५ हजार विद्यार्थी लाभान्वित भएको आंकलन प्रदेश मन्त्रालयको छ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले अब मोबाइलबाटै भिडिओसहित सबै विषयमा अफलाइन कक्षा लिन सक्नेछन् । अफलाइन एप डाउनलोड गरेपछि विद्यार्थीले आफूले चाहेको विषयमा अध्ययन गर्न पाउँछन् ।
कोभिड-१९ को असरका कारण विद्यालयमा उपस्थित भई पठनपाठन गर्न नपाएपछि वैकल्पिक शिक्षाका लागि संघ, प्रदेश र स्थानीय सरकारले सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् ।
प्रदेश सरकारले ‘पीडी स्मार्ट एजुकेसन’ नामक संस्थाको समन्वयमा ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ नामक एपको प्रयोग गरी अफलाइन कक्षा सञ्चालन गरेको हो ।
संस्थाका सीईओ गणेश जोशीले नेपाल सरकारको नँया पाठ्यक्रमअनुसार स्वीकृति लिएर पठन सामग्री निर्माण गरिएको जनाए ।
‘पीडी स्मार्ट एजुकेसन’ले ‘इजी लर्निङ’को अवधारणा अनुसार विगत तीन वर्षदेखि प्रयास गरिरहेको छ । सुरुवाती दिनमा यसको माग खासै नदेखिएको भएपनि निषेधाज्ञा वा लकडाउनका बेला लोकप्रियता बढिरहेको छ ।
६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुका लागि लक्षित गरी बनाइएको एपमा पाठ्यक्रममा आधारित डकुमेन्ट्रीहरु उपलब्ध छन् । सबै भिडिओ डकुमेन्ट्रीहरु विषय विशेषज्ञद्वारा निर्माण गरिएको छ । जसले गर्दा सिकाइ स्तरीय र प्रभावकारी हुने देखिन्छ ।
अनलाइन क्लास नहुँदा पनि यसलाई विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । यस एपमा अन्य विषय र पाठ्यक्रमका शैक्षिक सामग्रीहरु पनि उपलब्ध छन् ।
‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एपको प्रयोग गर्न एक पटक मात्र इन्टरनेटको जरुरत पर्दछ । संस्थाले एप डाउनलोड गर्दा मोबाइलमा एप सेटअपका लागि सिरियल की उपलब्ध गराउँछ ।
एकपटक एप सेटअप भइसकेपछि एक वर्षसम्म चलाउन मिल्छ । विद्यार्थीहरुले एपमा आफूले चाहेको विषय छानेर पढ्न सक्छन् । सिकाइको क्रममा द्विविधा भए उनीहरुले कमेन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ । ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एप गुगल प्ले स्टोरबाट मोबाइलमा सजिलै डाउनलोड गर्न सकिन्छ ।
सरकारको सहयाेग भएमा ‘स्मार्ट एजुकेसनले’ एक महिनाभित्रै देशभर सेवा उपलब्ध गराउन सक्ने संस्थाका सीईओ जोशीको भनाइ छ । यसअघि ‘स्मार्ट एजुकेसनले निजी शैक्षिक संस्थाहरुसँग पनि समन्वय गरिसकेको छ ।