काठमाडौं । मेसिन लर्निङ एण्ड डेटा साइन्स कम्युनिटी अफ नेपालको आयोजनामा चौथो मेसिन लर्निङ एण्ड डेटा साइन्स नेशनल वर्कशप आयोजना हुने भएको छ । मेसिन लर्निङ तथा डेटा साइन्सको विषयमा चेतना तथा ज्ञान अभिवृद्धिका लागि सन् २०१८ देखि सुरु भएको वर्कसप यो वर्ष यही भदौ ३० गते देखि सुरु हुने भएको छ ।
वर्कशप असोज ३ गते सम्म सञ्चालन हुनेछ । गत वर्ष जस्तै यो वर्ष पनि कार्यक्रम भर्चुअल माध्यम मार्फत हुने आयोजकले जनाएको छ । ‘वर्कशपमा २५ भन्दा धेरै प्रशिक्षकहरूको सहभागिता रहनेछ,’ कार्यक्रमको विषयमा जानकारी दिदैँ संस्थाका संस्थापक जनक पराजुलीले भने, ‘प्रविधिको विकास द्रुत गतिमा भइरहेको बेला विभिन्न क्षेत्रमा मेसिन लर्निङ तथा डेटा एनालाइसिसको सम्भाव्यता विषयमा बुझ्न बुझाउने उद्देश्यले यो वर्कशप सुरुवात गरेका हौं ।’
कार्यक्रममा अमेरिका, अष्ट्रेलिया, बेलायत, स्विट्जरल्यान्ड लगायत देशहरूबाट पनि प्रशिक्षकको सहभागिता रहने आयोजकले जनाएको छ । त्यस्तै सहभागीको लागि फरक फरक समूह बनाएर एकजना मेन्टर सहितको गाइडेड प्रोजेक्टको पनि व्यवस्थापन गरिने उल्लेख छ ।
कार्यक्रममा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरेर आफ्नो आवेदन दिन सक्नेछन् ।
‘यो वर्ष हामीले करिब ८०० जनाको आवेदन आउने आशा गरेका छौं । आवेदन आएका मध्येबाट छनौट गरेर करिब ५०० जना वर्कसपमा सहभागी हुनेछ । प्रविधि मात्र नभएर कुनै पनि क्षेत्रको इच्छुक व्यक्तिले कार्यक्रममा आवेदन दिन पाउनेछन्,’ पराजुलीले बताए ।
बिहान आठ बजे देखि ६ बजे सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी हुन पाँच सय रुपैयाँ दस्तुर तोकिएको छ ।