काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले जेठ १५ गते रत्नपार्कमा भएको प्रदर्शनका बेला मोबाइल डेटा नचलेको विषयमा प्रश्न उठाएका छन् । उनले फेसबुकमा लेख्दै सो क्षेत्रमा नेटवर्क समस्या देखिनु सुनियोजित हो वा प्राविधिक के हो भन्ने सम्बन्धमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
श्रेष्ठले लेखेका छन्- ‘राजसंस्थावादीहरुको जेठ १५ गते रत्नपार्क प्रदर्शनका क्रममा रत्नपार्क र आसपासका क्षेत्रमा मोबाइलका डेटाहरू चलेनन्, नेटवर्कमा समस्या देखिएको थियो । यो सुनियोजित थियो कि प्राविधिक समस्या ? सम्बन्धित निकायले प्रष्ट पारोस् !’
उनले संविधानले प्रदत्त गरेको निर्वाध राजनीतिक गतिविधि गर्न पाउने अधिकार र जनताको सुसूचित हुने अधिकार कुण्ठित गरिँदै गएको आरोप समेत लगाएका छन् ।
यसअघि सुरक्षा निकायले प्रदर्शनस्थल वरपर जामर प्रयोग गरी मोबाइल सम्पर्क अवरुद्ध गर्ने गरेका उदाहरण छन् । भिडभाड हुने क्षेत्र वा प्रदर्शनस्थलमा मोबाइल सम्पर्क कमजोर बनाउन प्रहरीले जामर भेहिकल समेत प्रयोग गर्दै आएको छ ।
जेठ १५ गते रत्नपार्कमा भएको प्रदर्शनका क्रममा मोबाइल नेटवर्क समस्या र डेटा अवरुद्ध गरिएको विषयमा भने गृह प्रशासन तथा नेपाल प्रहरीले कुनै आधिकारिक जानकारी दिएका छैनन् ।