काठमाडौं । कहिले काहिँ हामीलाई हाम्रो मोबाइलका केही एपहरू अरुले नहेरून् अथवा नचलाउन् भन्ने सोच हुन्छ ।
धेरैले एप हाइड गर्नका लागि प्ले स्टोरबाट अर्को एप डाउनलोड गरेर पनि आफ्ना एपहरू लुकाइरहेका हुन्छन् । तर धेरैजसो एन्ड्रोइड फोनमा होम स्क्रिन लन्चरमा एप हाइड गर्ने फिचर उपलब्ध गराइएको हुन्छ, जुन तपाईंलाई थाहा नहुन पनि सक्छ ।
सामसङ फोनमा कसरी लुकाउने एप ?
सामसङका ग्यालेक्सी फोनहरू ‘वान युआई’ होम डिफल्ट लन्चर सहित आएका हुन्छन्, जसले फोनमा तपाईंले चाहेको एपहरू लुकाउन मद्दत गर्दछ ।
यो लन्चरको सहयतामा तपाईंले लुकाउनुभएको एप तपाईंको एप लिस्टमा देखापर्दैन र तपाईं सजिलै अरुबाट आफूले प्रयोग गर्ने एपहरू लुकाउन सक्नुहुन्छ ।
सुरुमा एपहरुको पुरा लिस्ट देखिन आफ्नो स्क्रिनमा माथितिर स्वाइप गर्नुहोस् ।
स्क्रिनको सबैभन्दा माथि रहेको सर्च बक्सको दाहिने छेउमा भएको तीनवटा थोप्लामा ट्याप गर्नुहोस् ।
त्यहाँ सेटिङमा ट्याप गर्नुहोस् ।
अन्य अप्सनहरूसँगै अलिकति तल स्वाइप गरेपछि हाइड एप भन्ने अप्सन देखिन्छ । त्यहाँ ट्याप गर्नुहोस् ।
त्यसपछि तपाईंले आफूले लुकाउन चाहेको जति एपहरूमा ट्याप गर्नुहोस् ।
ट्याप गरेपछि तपाईंले छनौट गर्नुभएको एप स्क्रिनको माथिल्लो भागमा गएर बस्छ । यसपछि ब्याक एराे ट्याप गर्नुहाेस् । तपाईंले लुकाउनु भएको एप मोबाइलको एप लिस्टमा देखिँदैन ।
तर तपाईंले लुकाउनुभएको एप आफैंले चलाउनुपर्यो भने के गर्ने ? त्यसका लागि भने तपाईंले अघिको जस्तै स्क्रिन माथितिर स्वाइप गरेर सर्च बक्समा गएर आफूले लुकाउनु भएको एपको नाम टाइप गरेर उक्त एप चलाउन सक्नुहुन्छ ।
केही प्रयोगकर्तालाई एप लुकाएर मात्र नभएर कसैले आफ्नो एप नचलाओस् भन्ने पनि हुनसक्छ । यस्तो अवस्थामा भने तपाईंले आफ्नो एपहरूमा पासवर्ड राखेर पनि आफ्नो एप सुरक्षित राख्न सक्नुहुन्छ ।
यसका लागि भने तपाईंले आफ्नो मोबाइलमा ‘माइक्रोसफ्ट लन्चर’ इन्स्टल गर्नुपर्ने हुन्छ । तपाईंले यो लन्चर प्ले स्टोरमा नि:शुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ ।
लन्चर इन्स्टल गरेपछि एप लिस्टको लागि स्क्रिन माथितिर स्वाइप गर्नुहोस् ।
स्क्रिनको माथि भएको सर्चबक्सको दाहिनेतिर भएको तीनवटा थोप्लामा ट्याप गर्नुहोस् ।
त्यहाँ भएको हिडन एपमा ट्याप गर्नुहोस् ।
आफूले चाहेको एपहरूमा ट्याप गर्नुहोस् र ‘डन’ मा क्लिक गर्नुहोस् ।
हाइड गरिएका एपहरू देखापर्छ । स्क्रिनको दाहिनेपट्टि भएको सेटिङको आइकनमा ट्याप गर्नुहोस् ।
‘Set Password’ मा ट्याप गर्नुहोस् र आफूले चाहेको नम्बर सेट गरेर एप सुरक्षित राख्नुहोस् ।
यसपछि पुन: आफूले लुकाएका एपहरू सर्च बक्समा सर्च गरेर हेर्न सकिन्छ ।