close

एन्ड्रोइड प्रयोगकर्तामाझ घट्यो आईफोन क्रेज

टेकपाना टेकपाना

भदौ १७, २०७८ १२:५७

एन्ड्रोइड प्रयोगकर्तामाझ घट्यो आईफोन क्रेज

काठमाडौं । एप्पल विश्वभर सर्वाधिक रुचाइएको प्रविधि कम्पनी हो । वास्तवमा एप्पलका हरेक उत्पादनको अन्तर्राष्ट्रिय बजारमा छुट्टै लोकप्रियता छ । विशेषगरी स्मार्टफोन प्रयोगकर्ताहरूले एप्पलका आईफोनमा चासो राख्ने गरेको पाइन्छ ।

एप्पलको उत्पादन आईफोन १३ को रिलिज डेट नजिकिँदै गर्दा अनुसन्धान संस्था सेलसेलले एक सर्वेक्षण गरेको छ । उक्त सर्वेक्षण अनुसार आईफोन १२ को तुलनामा यस वर्ष आउन लागेको आईफोन १३ प्रति एन्ड्रोइड प्रयोगकर्ताहरूको मोह घटेको पाइएको छ ।

यसका पछाडि आईफोन १३ मा उपलब्ध फिचरहरू कारण भएको सर्वेक्षणले जनाएको छ । फिङ्गरप्रिन्ट स्क्यानर र बालबालिकाको सुरक्षासम्बन्धी फिचर लगायतका कारण एन्ड्रोइड प्रयोगकर्ताको आकर्षण घटेको हो ।

सर्वेक्षणमा १८ वर्षमाथिका पाँच हजारभन्दा बढी एन्ड्रोइड प्रयोगकर्तालाई एप्पलको आउँदै गरेकाे नयाँ उत्पादनका बारेमा धारणा राख्न भनिएको थियो ।

साे अवसरमा विशेषगरी आईफोन १३ र एप्पलका आगामी प्रडक्टहरूका साथै एप्पलका प्रतिस्पर्धीका बारेमा उनीहरूको धारणा कस्तो छ भनी सोधिएको थियो ।

सर्वेक्षणका अनुसार यस वर्ष १८.३ प्रतिशत एन्ड्रोइड प्रयोगकर्तामात्र आईफोन १३ लिन चाहन्छन् । जबकि गतवर्ष आईफोन १२ को रिलिज ताका ३३.१ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताहरू आईफोन किन्न चाहन्थे । गत वर्षको तुलनामा यो १४.८ ले कम हो ।

आईफोन १३ सिरिज अन्तर्गत ५.३ इन्चको आईफोन १३ मिनि, ६.१ इन्चको आईफोन १३, ६.१ इन्चकै आईफोन १३ प्रो र ६.७ इन्चको आईफोन १३ प्रो म्याक्समध्ये ३९.८ प्रतिशत एन्ड्रोइड प्रयोगकर्ताले आईफोन १३ प्रो म्याक्समा रुचि राखेको पाइएको छ ।

३६.१ प्रतिशतले आईफोन १३ प्रो र १९.५ प्रतिशतले आईफोन १३ मा रुचि राख्दा भने ४.५ प्रतिशतले मात्र आईफोन १३ मिनि रुचाएको पाइएको छ ।

३१.९ प्रतिशतले आईफोन १३ मा भएको फिङ्गरप्रिन्ट स्क्यानरका कारण आईफोन १३ लिन नचाहेको जनाएका छन् ।

१६.७ प्रतिशतले आईओएसमा भएको लिमिटेड कस्टमाइजेसनका कारण रुचि नरहेको जनाएका छन् ।

१२.८ प्रतिशतले आईओएसमा भएको साइड लोडको असुविधा नहुनका कारण रूचि नभएकाे बताएका छन् ।

१२.१ प्रतिशतले हार्डवेयर डिजाइनमा असन्तुष्टि जनाएका छन् । १०.४ प्रतिशतले बाल यौन दुर्व्यवहार सम्बन्धी सामग्रीहरू (सीएसएएम) मा हुने स्क्यानिङलाई आईफोन १३ मा रुचि नभएको बताए ।

सर्वेक्षणका अनुसार, आईफोन १३ किन्न चाहने १४.७ प्रतिशत एन्ड्रोइडका प्रयोगकर्ताले एप्पल वाचको सिरिज ७ मा रुचि देखाएको पाइएको छ । त्यसैगरी ६.२ प्रतिशतले मात्र तेस्रो पुस्ताको (थर्ड जेनेरेसनको) एयरपोड्स किन्न रुचि देखाएका छन् ।

आधिकारिक रुपमा आईफोन १३, एप्पल वाच ७ र थर्ड जेनेरेसनको एयरपोर्ड्स सार्वजनिक हुन अब दुई हप्ता मात्र बाँकी छ ।

यस वर्ष आईफोनको डिजाइन आशा गरिएजस्तो नभएको पाइएको छ । आईफोन १३ मा परिमार्जित भएका फिचरमा क्यामेरा, प्रोरेस भिडिओ रेकर्डिङ, १२० हर्जको प्रो मोसन डिस्प्ले, सानो नच, फास्ट ए सिरिज प्रोसेसर र क्वालकमको ५ फाइभजी चिप आदि रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३