close

‘पार्ट्स सहजै उपलब्ध नहुँदा पुराना मोबाइल चाँडै फ्याँक्नुपर्ने अवस्था’

टेकपाना टेकपाना

भदौ २३, २०७८ १२:५५

‘पार्ट्स सहजै उपलब्ध नहुँदा पुराना मोबाइल चाँडै फ्याँक्नुपर्ने अवस्था’

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासङ्घले मोबाइल फोनको पार्ट्स सहजै उपलब्ध नहुँदा पुराना मोबाइल फ्याँक्नुपर्ने अवस्था रहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी मोबाइल व्यवसायसँग सम्बन्धित समस्या उजागर गरेको हो ।

यसका साथै मोबाइल निर्माता कम्पनीहरूले पर्याप्त मात्रामा मोबाइल रिपेयरिङ तथा सर्भिस सेन्टरको व्यवस्था गर्नुपर्ने माग समेत सङ्घले अगाडि सारेको छ । ‘उपभोक्तासँग सिधै सम्पर्क हुने भएकाले व्यवसायले बिक्री गरेको मोबाइलमा आउने समस्या समाधानमा आयातकर्ता कम्पनीले तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन सकेका छैनन्,’ संस्थाको अवधारणापत्र सार्वजनिक गर्दै सङ्घका महासचिव रमेश घिमिरेले भने ।

‘यो मोबाइल व्यवसायीहरूको एउटा साझा समस्या हो ।’ हरेक महिना मोबाइलको मूल्य सूची सार्वजनिक गर्नुपर्ने माग यसैबीच महासङ्घले हरेक महिना मोबाइलको मूल्य सूची सार्वजनिक गर्नुपर्ने माग समेत अगाडि सारेको छ ।

‘मोबाइलको मूल्य सूचि कम्तिमा महिनाको एकपटक कम्पनीहरूले मूलधारका मिडियामा सार्वजनिक नगर्दा व्यवसायी र उपभोक्ताबीचको वादविवाद बढ्ने अवस्था उत्पन्न भएको छ,’ संस्थाको अवधारणापत्रमा उल्लेख छ । संस्थाका महासचिव घिमिरेका अनुसार मुख्य डिलरसँग सामान लिन असहज भएको र साना व्यवसायीले एमआरपीकै समान मूल्यमा खरिद गरी बिक्री गर्नुपर्दा समस्या परेको छ ।

साथै गरिब, विपन्न तथा सीमान्तकृत समुदायमा समेत स्मार्टफोनको पहुँच वृद्धि गर्नेतर्फ ध्यान दिन आवश्यक रहेको भन्दै  महासङ्घले सरकारको ध्यानाकर्षण समेत गराएको छ । महामारीको अवस्थामा राहत स्वरुप ठूला आयातकर्ता तथा उद्योगीहरूका लागि राज्यले विभिन्न योजना ल्याएको भए पनि साना व्यवसायीहरूलाई त्यसले समेट्न नसकेको भन्दै महासङ्घका अध्यक्ष भरत भट्टराईले गुनासो गरे ।

‘कोरोनाका कारण महिनौँ ठप्प रहेको मोबाइल व्यवसायले राज्यबाट कुनै सुविधा पाएन,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५