काठमाडौं । डिजिटल भुक्तानीको कारोबार सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ, डिजिटल वालेट र कार्डमार्फत गरिने भुक्तानीको दायरा विस्तार गरेको हो ।
केन्द्रीय बैंकको नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङ (क्यूआर कोड सहित) बाट प्रति दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट प्रति दिन २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने छ । यस्तै बैंक खाताबाट प्रति कारोबार ५० हजार, प्रति दिन एक लाख र प्रति महिना १० लाख रुपैयाँ वालेटमा रकमान्तर गर्न सकिनेछ ।
त्यस्तै वालेटबाट बैंकमा रकमान्तर गर्दा समेत सोही स्तरको सीमा निर्धारण गरिएको छ । यसैगरी एउटा वालेटबाट अर्को वालेटमा प्रति कारोबार २५ हजार, प्रति दिन एक लाख र प्रति महिना पाँच लाख रुपैयाँसम्मको भुक्तानी तथा रकमान्तर गर्न सकिनेछ ।
यसअघि वालेटमा ओभरनाइट (एक दिनभन्दा बढी समयका लागि) २५ हजार रुपैयाँभन्दा बढी मौज्दात राख्न नमिल्ने व्यवस्थालाई समेत परिवर्तन गरिएको छ । अब यस्तो सीमा ५० हजार रुपैयाँ कायम गरिएको छ ।
सो सीमा भन्दा बढी रहेको रकम वालेट सेवाप्रदायकले सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ । यद्यपि वालेटबाट वालेटमा बाहेकको बैंक खातामा रकमान्तर गर्दा कुनै सीमा नलाग्ने बताइएको छ ।
संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । भुक्तानी सेवाप्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त एजेन्ट मार्फत प्रतिदिन अधिकतम २५ हजार रुपैयाँसम्म र प्रति महिना अधिकतम एक लाख रुपैयाँसम्म नगद जम्मा गर्न सक्नेछन् ।
यस्ता एजेन्टमार्फत नगद प्राप्त गर्न सकिने सीमा समेत सोही स्तरमा कायम गरिएको छ ।