काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड अनरलाई प्रतिबन्ध गर्ने वा नगर्ने विषयमा अमेरिकी प्रमुख सुरक्षा निकायबीचमै दुविधा देखिएको छ ।
अनर कुनै समय ह्वावेको सहायक कम्पनीको रुपमा रहेको थियो । अमेरिकाले ह्वावेलाई प्रतिबन्ध लगाएसँगै स्वतः रुपमा अनर पनि उक्त प्रतिबन्धको शिकार बनेको थियो ।
तर, यही वर्षको सुरुवातदेखि ह्वावेसँग छुट्टिएर अनर स्वतन्त्र कम्पनीको रुपमा अघि बढेको छ । त्योसँगै कम्पनीले आफूमाथि लागेको प्रतिबन्ध खुलाउन अमेरिकी सरकारलाई निवेदन दिएको थियो ।
अनरले दिएको उक्त निवेदनकै आधारमा हाल अनरलाई लागेको प्रतिबन्ध फुकाउने/नफुकाउने भन्ने विषयमा अमेरिकाका विभिन्न सुरक्षा निकायबीच छलफल भइरहेको छ ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले झण्डै तीन वर्षदेखि ह्वावेलाई अमेरिकामा प्रतिबन्ध लगाएको छ । ट्रम्प प्रशासनको निर्णय नयाँ राष्ट्रपति जो बाइडेन आएसँगै परिवर्तन हुनसक्ने आँकलन गरेपनि त्यो सम्भव भएको छैन ।
उल्टै बाइडेन सरकार ह्वावेप्रति अझ बढी कडाका साथ प्रस्तुत भएको छ । यस्तोमा कुनै समय ह्वावेको कम्पनी रहेको अनरलाई फुकुवा गर्ने विषयमा बाइडेन प्रशासनका सुरक्षा निकायबीच फरक मत देखिएको हो ।
उक्त अध्ययनमा अमेरिकाका चार निकाय समावेश छन् । त्यसमा केहीले अनरलाई प्रतिबन्ध जारी राख्नुपर्ने राय दिएका छन् भने केहीले फुकुवा गर्नुपर्ने मत दिएका छन् ।
पेन्टागनका प्रतिनिधि तथा इनर्जी विभागका प्रतिनिधिले अनरलाई कालाेसूचीमै राख्नुपर्ने बताएका छन् । तर, सँगै कमर्श विभाग र स्टेट विभागले भने अनरमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने राय व्यक्त गरेका छन् ।
यसरी अनरको विषयमा चार संस्थाबीच देखिएको फरक मतले अनरको विषयमा तत्कालै निर्णय हुनसक्ने अवस्था नरहेको जनाइएको छ ।