close

ट्याब्लेट समेत बनाउन मिल्ने एसुसको नयाँ ल्यापटप (भिडिओमा)

लुना शर्मा लुना शर्मा

असोज १३, २०७८ १३:३

ट्याब्लेट समेत बनाउन मिल्ने एसुसको नयाँ ल्यापटप (भिडिओमा)

काठमाडौं । केही समय अघि मात्र मैले डेल इन्स्पिरन ५४१० टु ईन वान को रिभ्यु गरेको थिएँ । र आज पनि म त्यस्तै किसिमको ‘टु ईन वान’ ल्यापटप ल्याएर आएको छु ।

एसुसको जेनबुक सिरिज मन पर्छ अनि सस्तो मूल्यको ‘टु ईन वान’ ल्यापटप खोज्दै हुनुहुन्छ भने यो रिभ्यू तपाईँका लागि हो । आज म ३६० डिग्री हिन्ज भएको एसुस भिभोबुक फ्लिप टीपी ४१२ एफए ल्यापटपको रिभ्यु गर्दैछु ।

एक हप्ता जति भयो मैले यो ल्यापटप चलाउन थालेको । के यो ल्यापटप मूल्य अनुसार उपयुक्त छ ? आउनुहोस् विस्तृत रुपमा यसको रिभ्युमा हेरौं ।

इन्टेलको प्रोसेसर रहेको यो ल्यापटप आई थ्री र आई फाइभ अप्सनमा आउँछ । दुवैमा १० औँ पुस्ताको प्रोसेसर भएकाले आफ्नो हिसाबले कुन ठीक लाग्छ, त्यसैअनुसार लिँदा हुन्छ । मसँग भएको ल्यापटप भने आईथ्री हो ।

आईसेभेन र आईनाइन ल्यापटप बजारमा आइसकेको हुँदा आईथ्री भन्ने बित्तिकै अलिक समय गुज्रिसकेको हो कि भन्ने पनि लाग्न सक्छ । तर सामान्य कार्यालय प्रयोजन अथवा विद्यार्थीहरूका लागि भने यो ल्यापटपलाई एउटा राम्रो विकल्प मान्न सकिन्छ ।

किन भने यो ल्यापटप ‘पोर्टेबल’ अर्थात बोकेर यताउति गर्न सहज हुने किसिमको छ । ट्याब्लेट मोडमा चलाउन मिल्छ । टच स्क्रिन पनि स्मुथ नै छ । सँगसँगै अनलाइन मिटिङ अथवा अनलाइन क्लासहरूमा सहभागी हुन पनि यो एकदमै सहज लाग्छ ।

एक्सेसरिज

एक्सेसरिजको कुरा गर्दा एसुसले गुणस्तरीय सामान उपलब्ध गराएको देखिन्छ । युजर म्यानुअल, वारेन्टी कार्ड बाहेक यसको बक्समा तपाईंले क्लासी स्टाइलस समेत पाउनु हुन्छ ।

टच स्क्रिन अनि ट्याब्लेट मोडमा चलाउन मिल्ने भएकाले यो स्टाइलसले ल्यापटपमा लेख्न, चित्र कोर्न अथवा कुनै पनि कोर्षको काम गर्न सजिलो हुन्छ । यो पेनको अगाडिको बटनले सेलेक्ट गर्ने काम गर्छ भने पछाडिको बटनले इरेज अर्थात मेटाउने काम गर्छ ।

त्यसका साथै ४५ वाटको कम्प्याक्ट पावर एडप्टर र चार्जिङ केवल समेत यसको साथमा आउँछ । यति मात्र नभएर बक्समा तपाईंले ल्यापटप कभर पनि पाउन सक्नुहुन्छ ।

एक्सेसरिजहरू राम्रो गुणस्तरीय र सुरक्षाको हिसाबले समेत उपयुक्त छन् । यसका साथै एउटा तारयुक्त माउस पनि एसुसले उपलब्ध गराएको छ, जसको पर्फर्मेन्स पनि राम्रो छ ।

बडी डिजाइन

यो ल्यापटपको बडी डिजाइनमा आउँदा मेटालिक फिनिसिङमा कम्प्याक्ट डिजाइन रहेको यो ल्यापटप हेर्दा प्रिमियम देखिन्छ । यसमा डार्क ब्लुक कलरको विकल्प उपलब्ध छ । १.५ केजी तौल रहेको यो ल्यापटप बोकेर हिँड्न सजिलो छ ।

साथै पातलो र स्टाइलिस पनि देखिन्छ । यो ल्यापटपको बडी झट्ट हेर्दा आकर्षित गर्ने किसिमको लाग्यो । अब यसको पोर्टको कुरा गरौँ । दायाँतर्फबाट क्रमशः सुरुमा सेक्युरिटी स्लट, चार्जिङ पोर्ट, एचडीएमआई पोर्ट, ३.० यूएसबी पोर्ट, थन्डरबोल्ट टाइप सी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक राखिएको छ ।

त्यसैगरी बायाँ तर्फ दुई ओटा २.० जेन यूएसबी पोर्ट, माइक्रो एसडी कार्ड स्लट, चार्जिङ इन्डिकेटर, पावर इन्डिकेटर, भोलुम बटन र पावर बटन दिइएको छ । पावर बटन चाहिँ साइडमा भएको भए अझ राम्रो हुनसक्थ्यो कि झैँ लाग्यो ।

किन कि सामान्यतया ल्यापटप खोलेपछि यसमा ओपन लिड सेन्सर छैन । जसले गर्दा ल्यापटपको लिड खोल्दा स्क्रिन अन हुँदैन । यसका लागि साइडमा राखिएको पावर बटन अन गर्नुपर्छ । यसमा क्यामेरा चाहिँ स्क्रिनको तल राखिएको छ । हेर्दा अलि अनौठो लागे पनि ट्याब्लेट मोडमा भिडिओ कल गर्दा वा ल्यापटप मोडमा भिडिओ कल गर्दा क्यामेरा एङ्गल चाहिँ आनन्दसँग मिल्दो रहेछ ।

अनि फिङ्गरप्रिन्ट सेन्सर चाहिँ टच प्याडको साइडमा छ । सामान्यतया पावर बटन अथवा क्यामेरा हुने ठाउँमा हामीले फिङ्गरप्रिन्ट सेन्सर देख्दै आएको भए पनि यसमा टचप्याडमा राखिएको भए पनि मलाई चाहिँ सहज नै लाग्यो ।

डिस्प्ले

वाइड भ्यू प्रविधि भएको यसको ग्लसी १४ इन्चको डिस्प्ले छ । साथमा अल्ट्रा न्यारो ६.१५ एम एम नानो एज बेजल डिजाइन र एलईडी ब्याकलिट फुल एचडी भएर डिस्प्लेलाई झनै राम्रो टेक्सचर दिएको छ ।

६० हर्जको ग्लेर टचस्क्रिन रहेको १६:९ अनुपातमा रहेको एलईडी ब्याकलिटसँग २०० निट्सको ब्राइटनेस उपलब्ध गराइएको छ । जुन आउटडोर पर्फर्मेन्सको लागि खासै राम्रो मानिँदैन ।

कोठा भित्र ल्यापटप चलाउँदा केही समस्या नभए पनि २०० निट्सको ब्राइटनेस मात्र भएकोले बाहिरको उज्यालोमा बसेर चलाउँदा भने डिस्प्लेमा समस्या हुन सक्छ । साथै ग्लसी डिस्प्ले भएको हुँदा स्क्रिनमा औँलाको दाग देखिन्छ ।

यसले गर्दा बेला बेला स्क्रिन सफा गरिरहनु पर्ने हुन्छ । स्क्रिन टु बडी रेसियोको कुरा गर्नु पर्दा ८२ प्रतिशतको फरक भएकोले फुल स्क्रिनमा चाहिँ राम्रो महसुस हुँदैन । त्यस्तै एसुसको लोगो राखेको भाग चाहिँ मलाई अलिक बढी भएको जस्तो लाग्यो ।

यसको डिजाइनमा लोगो राखेको रेसियो घटाएर तल फुल स्क्रिन भइदिएको भए डिस्प्लेले राम्रो क्वालिटी पाउथ्यो । किनभने फुल डिस्प्लेहरूमा फोरके भिडिओ राम्रो देखिन्छ । बजारमा भएको एसुसका अन्य ल्यापटपहरू हेरेर यसमा डिस्प्लेमा कम्पनीले अलिकति सम्झौता गरेको जस्तो देखियो ।

किबोर्ड 

मलाई यो ल्यापटपको सबैभन्दा मनपरेको कुरा भनेको किबोर्ड हो । म्याट फिनिसिङमा अलिकति टेक्सचर भएको किबोर्ड चिकलेट स्टाइलमा छ । चिकलेट स्टाइल किबोर्डमा स्ट्यान्डर्ड किबोर्डको भन्दा किहरूको बिचमा अलि बढि ग्याप हुन्छ र किहरूको हाइट पनि अलि ठूलो हुन्छ ।

यसले गर्दा टाइपिङमा धेरै सजिलो र छिटो हुन्छ । साथै किबोर्ड सफा गर्न पनि धेरै सहज हुन्छ । दैनिक प्रयोग गर्नको लागि भने यो ल्यापटप निकै नै उपयोगी हुन्छ ।

ट्रयाकप्याड

म्याट फिनिसिङमा भएको ट्रयाकप्याड पनि झट्ट हेर्दा आकर्षक देखिन्छ भने माउसको फरक गेस्चर अर्थात यो ल्यापटपमा फरक फरक कामको लागि दुईओटा, तीनओटा अथवा चारओटै औँला प्रयोग गर्न सकिन्छ ।  सँगसँगै यो ल्यापटपको जुम इन र जुम आउट एकदमै स्मुथ पनि छ ।

ब्याट्रि

म्याट फिनिसिङमा भएको ट्रयाकप्याड पनि झट्ट हेर्दा आकर्षक देखिन्छ भने माउसको फरक गेस्चर अर्थात यो ल्यापटपमा फरक फरक कामको लागि दुईओटा, तीनओटा अथवा चारओटै औँला प्रयोग गर्न सकिन्छ ।  सँगसँगै यो ल्यापटपको ‘जुम इन’ र ‘जुम आउट’ एकदमै स्मुथ पनि छ ।

मेमोरी 

यो ल्यापटपमा चार जीबीको र्‍याम रहेको छ जसलाई १६ जीबी सम्म एक्सटेन्ड गर्न मिल्छ । त्यस्तै यसमा २५६ जीबीको स्टोरेज रहेको छ भने एक टीबी सम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्छ ।

यो बाहेक मेमोरीमा मलाई लागेको कुरा भनेको धेरै काम गर्नको लागि विभिन्न एपहरू खोलेर काम गर्दा र्‍याम छिट्टै भरिन्छ । त्यसैले दैनिक रुपमा मल्टिटास्क गर्नुपर्छ भने आठ जीबी अथवा १६ जीबी सम्मको र्‍याम अपग्रेड गर्दा धेरै राम्रो हुन्छ । 

हार्डवेयर कन्फिग्रेसन

हार्डवेयर कन्फिग्रेसनको कुरा गर्नुपर्दा इन्टेल कोर आई थ्रि १०११० यू प्रोसेसर भएको यो ल्यापटपमा मल्टिटास्किङ गर्दा सीपीयु ले दिएको पर्फर्मेन्स चाहिँ एकदम राम्रो लाग्यो मलाई । थुप्रै एप्लिकेशन चलाएर काम गर्दा ल्यापटप तातिन्छ अथवा पफर्मेन्स नराम्रो हुन्छ भन्ने डर यसमा मान्नु पर्दैन ।

सफ्टवेयर कन्फिग्रेसन

यो ल्यापटपमा विन्डोज १० अपरेटिङ सिस्टमसँगै एमएस अफिस २०१९ को सपोर्ट रहेको छ । एमएस २०१९ सपोर्ट हुने भएपछि पावरपोइन्ट, एक्सेल, वर्ड लगायतका एप्लिकेसनमा काम गर्न मज्जाले सकिन्छ ।

ग्राफिक्स 

यसमा इन्टेलको एचडी ग्राफिक्स ६२० प्रयोग भएको छ जसलाई सामान्य भर्सन मानिन्छ, त्यसैले यसले हाई इन्ड गेमिङ सपोर्ट गर्न भने अलि सक्दैन । तर नर्मल गेमहरू भने मज्जाले खेल्न सकिन्छ ।

यदि तपाईं हेभी सफ्टवेयर चलाउनु हुन्छ वा गेम खेल्नु हुन्छ भने अरु नै अप्सन खोज्दा ठिक होला । तर सामान्य प्रयोगको लागि बेसिक सफ्टवेयर चलाउन यो ल्यापटप उत्कृष्ट  छ ।

क्यामेरा 

यो ल्यापटपको क्यामेरा भीजीए क्यामेरा हो, जसमा ७२० पिक्सेल रेजोलुसन छ । सामान्य अवस्था जस्तै मिटिङ, कन्फ्रेन्स, अनलाइन कक्षा, भिडिओ कलहरूको लागि भने यत्तिको क्यामेरा राम्रै हुन्छ । यो भन्दा पनि राम्रो क्वालिटी चाहनुहुन्छ भने छुट्टै वेबक्याम खरिद गरे पनि प्रयोग गर्न सक्नुहुन्छ ।

अडियो 

यो ल्यापटपमा दुई  वाटको स्टेरियो स्पिकर छन् । साथै यसमा डिजिटल आरे माइक्रोफोन भएकोले विन्डोज १० कोर्टाना सहितको भोइस सपोर्ट गर्छ ।

त्यस्तै यसमा एसुस सोनिक मास्टर प्रिमियम प्रविधि पनि प्रयोग भएको छ । यो ल्यापटपमा स्पिकरको आवाज त्यति ठूलो सुनिँदैन । एउटा मान्छेलाई रुपमा बसेर मुभी हेर्न त मिल्छ तर धेरै जनाको लागि भने यसले खासै काम गर्दैन ।

फिंगरप्रिन्ट 

यो ल्यापटपको फिङ्गरप्रिन्ट सेन्सर ट्रयाक प्याडको दाहिने पट्टी माथि रहेको छ । यसले फिङ्गरप्रिन्ट सेन्सर रजिस्टर गरेर लक खोल्नको लागि सजिलो नी हुन्छ र सुरक्षित पनि हुन्छ । यसले गर्दा पासवर्ड बिर्सने डर पनि हुँदैन र ल्यापटप सुरक्षित पनि हुन्छ ।

ट्याबलेट मोड 

टु इन वान फिचर भएको यो ल्यापटपले ट्याबलेट मोडमा टचस्क्रिन र स्टाइलसको सपोर्ट मज्जाले गर्छ । मुभी हेर्न, स्केच गर्न, अनलाइन मिटिङ वा क्लासमा बस्न अथवा कुनै फिचर प्रयोग गर्न टच स्क्रिनले ल्यापटप र ट्याबलेट मोड दुवैमा सपोर्ट गर्छ । ल्यापटपलाई ट्याबलेट मोडमा चलाउन मिल्नु नै यो ल्यापटपको अर्को बलियो पक्ष हो ।

अभाव महसुस हुने पक्ष

अब कुरा गरौं यसमा थप राम्रो के हुन सक्थ्यो भन्ने विषयमा कुरा गर्दा सबैभन्दा सुरुमा यसको अडियो फिचर भइहाल्यो जुन अघि पनि उल्लेख गरिएको छ कि यसको अडियो खासै ठूलो छैन । त्यसपछि डिस्प्लेको कुरामा पनि यसले अलिकति रियललाइफ जस्तो बनाउन सकिन्थ्यो ।

झन स्क्रिन टु बडिको रेसियो नै ८२ प्रतिशत हुदाँ डिस्प्लेको साइन नै घटाएको हो कि जस्तो लाग्यो । त्यस्तै ट्याबलेट मोडमा किबोर्ड नहुदाँ अलि अप्ठेरो महसुस भयो । यदि यी कुराहरू भएको भए यो ल्यापटप थप उत्कृष्ट हुन्थ्यो ।

मूल्यको कुरा 

यो ल्यापटपको मूल्य ८३,३३३ रुपैयाँ रहेको छ । एक वर्षको वारेन्टी सहित यो ल्यापटपमा तपाईंले म्याकफी एन्टिभाइरस पनि पाउनु हुनेछ । यदि तपाईंको लागि टच स्क्रिन महत्वपूर्ण हो र दैनिक कामको लागि एउटा हाई पर्फर्मेन्स भएको ल्यापटपको आवश्यक छ र ट्याबलेट र स्केचप्याड पनि जरुरी लाग्छ भने यो ल्यापटप तपाईंको लागि एकदमै उपयोगी हुनेछ ।

तर यदि हाई-इन्ड गेमिङको लागि ल्यापटप खोजिरहनु भएको छ भने चाहिँ यो तपाईंको लागि उपयुक्त नहुनसक्छ । त्यसका लागि एसुसकै अन्य गेमिङ ल्यापटप समेत विचार गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१