काठमाडौं । सामसङले आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) अर्थात कृत्रिम बौद्धिकतामा नयाँ आविष्कारका लागि काम गरिरहेको छ । न्युरोटाक्सिक इन्जिनियरिङलाई एआईसँग जोडेर कम्पनीले मानिसको दिमागमा भएको ज्ञान तथा जानकारीलाई कपी गरी मेमोरी नेटवर्कमा पेस्ट गर्न मिल्ने प्रविधि बनाउने योजनामा जुटेको हो ।
हुन त सामसङ मात्रै यो क्षेत्रको मुख्य खेलाडी भने होइन । किन भने इन्टेल, आईबीएम जस्ता कम्पनी पनि यसमा काम गरिरहेका छन् । उनीहरूले त यसअघि नै उक्त प्रविधिको प्रोटोटाइप प्रस्तुत गरिसकेका छन् ।
तर, हालसम्म ठोस निर्माण भने हात लाग्न सकेको छैन । यसैबीच यो क्षेत्रमा सामसङ पनि प्रवेश गरेको हो । सामसङले मानिसको दिमागको न्युरोनलाई थ्रीडी न्युरोमर्फिक चिपमा कपी-पेस्ट गर्न सकिने दावी गर्दै आफ्नो परियोजना अघि बढाएको छ ।
त्यसका लागि कम्पनीले उक्त चिप निर्माणको एउटा पद्धति समेत प्रस्ताव गरेको छ । हार्वड विश्वविद्यालयका साथै विभिन्न संस्थासँग सहकार्य गरेर कम्पनीले तयार पारेको उक्त प्रस्ताव भर्खरैमात्र सार्वजनिक भएको हो । जसमा मानिसको दिमागलाई कपी गरेर हाई–डेन्सिटी थ्रीडी नेटवर्कमा सार्न सकिने उल्लेख छ ।