काठमाडौं । गुगलको कम्प्युटर भिजन सर्च इन्जिन अब डेस्कटपमा पनि उपलब्ध हुने भएको छ । डेस्कटप क्राेम ब्राउजरमा पनि यो सुविधा हुने गुगलले जनाएको छ ।
यो सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भनेर गुगलले कुनै आधिकारिक जानकारी नदिए पनि यो फिचर कस्तो हुनेछ भन्ने विषयमा भने कम्पनीले आफ्नो ट्वीट गरेको छ ।
उक्त पोस्टको अनुसार डेस्कटपमा क्रोम ब्राउजर प्रयोग गर्दा त्यहाँ भएको फोटोमा राइट क्लिक गरेपछि त्यहाँ ‘सर्च विथ गुगल लेन्स’ भन्ने अप्सन देखिन्छ । त्यहाँ क्लिक गरेपछि गुगल फोटो एआईले तपाईंको फोटोसँग सम्बन्धित विवरणहरू देखाउनेछ ।
गुगलको इमेज सर्च फिचरले सो तस्बिरसँग मिल्दोजुल्दो फोटो मात्र देखाउथ्यो भने अब लेन्सले सो तस्बिर जस्तै अन्य फोटो जस्तै: मान्छे, अक्षर , गणितीय सङ्केतहरू, जनावरहरू लगायत अन्य थुप्रै फोटो चिन्नेछ ।
यसले तपाईंको लागि अक्षर कपी पेस्ट गर्न पनि सहयोग गर्छ । यो फिचर पहिले एन्ड्रोइड र आइओएसमा मात्र उपलब्ध थियो । अब भने यो फिचर डेस्कटपमा पनि उपलब्ध हुनेछ । यसको अर्थ तपाईंले डेस्कटपको कुनै फोटोमा भएको अक्षर कपी गर्नु पर्यो भने अब मोबाइलको गुगल लेन्स प्रयोग गर्न पर्दैन ।
सिधै डेस्कटपमा पनि अक्षर कपी पेस्ट गर्न सक्नुहुन्छ । साथै, यो फिचरसहित कम्पनीले गुगल लेन्सलाई थप उपयोगी बनाउँदैछ । कम्पनीका अनुसार लेन्समा थप नयाँ फिचरहरू आउदैछ । जस्तो कि कुनै सामानको तपाईंलाई नाम थाहा छैन भने अब फोटोमा देखाइएको भरमा गुगलले उक्त सामानको विवरण तपाईंलाई दिन्छ ।
उदाहरणको लागि तपाईंको बाइक दुर्घटनामा परेर बाइकमा क्षति पुग्यो र त्यसमा भाँचिएको अथवा फुटेको कुनै एउटा सामान आवश्यक पर्यो । अब के गर्नुहुन्छ ? यसको लागि तपाईंले सो फुटेको सामानको फोटो खिचेर लेन्समा राख्नुभयो भने लेन्सले त्यो सामान पत्ता लगाएर त्यसको समाधानको विकल्पहरू समेत तपाईंलाई जानकारी दिनेछ ।