काठमाडौं । आजको दिनमा इन्टरनेट अपरिहार्य आवश्यकताको विषय बनिसकेको छ । अझ कोभिड–१९ पश्चात् अनलाइन कक्षा, वर्क फ्रम होम लगायतका बाध्यताले पनि इन्टरनेटको महत्व अझ बढाएको छ ।
यसैबीच सरकारले पनि इन्टरनेटलाई आधारभुत सेवाको रुपमा सूचीकृत गरिसकेको अवस्था छ । यसरी इन्टरनेट सेवा अत्यावश्यक बनिरहँदा सेवाप्रदायक पनि ग्राहकलाई सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिस्पर्धामा छन् ।
ठूलो व्यापारिक घराना चौधरी ग्रुपले कर बाहेक नौ सय ९९ रुपैयाँमा १२० एमबीपीएस इन्टरनेट प्याकेज सँगै बजारमा प्रवेश गरेपछि इन्टरनेटको गतिमा छुट्टै रौनक छाएको छ । सिजी नेटले १२० एमबीपीएसको इन्टरनेट सुरु गरेसँगै बजारमा अन्य कम्पनीले पनि आफ्ना ग्राहकलाई उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागि परेका छन् ।
गतिसँगै बजारमा ‘प्राइस वार’ (सस्तो मुल्यमा इन्टरनेट उपलब्ध गराउने बजार प्रतिस्पर्धा) नै सुरु भएको छ । प्रयोगकर्ताको हिसाबले यो परिदृश्य पक्कै पनि खुशीको विषय हो ।
हुनसक्छ, कम्पनीहरूले भने जस्तै ग्राहकलाई सेवा उपलब्ध गराउन सकेका छैनन् । तर, पनि सस्तो मूल्यमा धेरै गतिको इन्टरनेट प्रयोग गर्ने विकल्प भने बजारमा काफी मात्रामा उपलब्ध भइसकेका छन् ।
बजारमा यस्ता धेरै सेवा प्रदायक छन्, जसले सय एमबीपीएसदेखि माथिको इन्टरनेट उपलब्ध गराउँदै आइरहेका छन् । जसमा वर्ल्डलिंक, भायानेट, सुबिसु, क्लासिकटेक, सिजीनेट र डिशहोम छन् । यी कम्पनीले उपलब्ध गराएको उच्च गतिको इन्टरनेट (१०० एमबीपीएसभन्दा माथि) को प्याकेजको मूल्यलाई आधार मानेर हामी यहाँ कसको इन्टरनेट सस्तो भन्ने विषयमा चर्चा गर्ने प्रयास गर्दैछौँ ।
सेवाप्रदायकले भनेको जति इन्टरनेट स्पिड ग्राहकलाई दिन्छन् दिँदैनन्, ग्राहक सेवा कस्तो छ, सर्भिस तथा मेन्टिनेन्स कति प्रभावकारी छ, लोकल ब्यान्डविथ र अन्तर्राष्ट्रिय ब्यान्डविथ कति चुस्त छ, पिङ कसको घटीबढी छ जस्ता विषयहरूलाई हामीले यसमा समेटेका छैनौँ । कम्पनीले उपलब्ध गराइरहेका प्याकेजको मूल्य र गतिको आधारमा हामीले कुन सस्तो पर्न आउँछ भन्ने विषयमा कुरा गर्दै छौँ ।
त्यसका लागि सेवा प्रदायकले उपलब्ध गराएको इन्टरनेट स्पिडको मूल्य प्रति एमबीपीएसमा निकालेर सूचीबद्ध गर्ने प्रयास गरेका छौँ । यसको अर्थ प्रति एमबीपीएसका लागि ग्राहकले वार्षिक कति शुल्क बुझाउनुपर्छ भन्ने विषय यसले निर्धारण गर्नेछ । साथै, यसमा हामीले सम्बन्धित कम्पनीले उपलब्ध गराएका वार्षिक प्याकेजलाई मात्र समेटेका छौँ ।
वर्ल्डलिंक –३०० एमबीपीएस
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नेपाली इन्टरनेट प्रयोगकर्ता माझ हालसम्मकै उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । मेस वाई-फाईको रुपमा कम्पनीले तीन सय एमबीपीएस गतिको इन्टरनेट ग्राहकलाई उपलब्ध गराएको छ ।
जसको वार्षिक शुल्क २२ हजार रुपैयाँ रहेको छ । यस आधारमा ग्राहकले प्रति एमबीपीएसका लागि प्रति महिना ६.११ रुपैयाँ तिर्नुपर्ने देखिन्छ । यदि नेटटिभी आवश्यक छैन भने यो प्याकेज वार्षिक २१ हजार रुपैयाँमै पाउन सकिन्छ । जसमा मासिक प्रति एमबीपीएसका लागि झन् ५.८३ रुपैयाँ मात्रै पर्न आउँछ ।
यसका साथै यही शुल्कभित्र कम्पनीले तीनओटा नेटटिभी पनि ग्राहकलाई उपलब्ध गराउँछ । ग्राहकले यो इन्टरनेट प्याकेजको वार्षिक बाहेक मासिक र तीन महिने विकल्प समेत रोज्न सक्छन् ।
यसको वार्षिक प्याकेजमा डुअल ब्यान्ड राउटर र अप्टिकल फाइबर निःशुल्क छ । तर स्मार्ट इन्स्टलेसन र राउटरको डिपोजिटको रुपमा क्रमशः तीन हजार रुपैयाँ र पाँच सय रुपैयाँ थप तिर्नुपर्ने हुन्छ । साथै यही प्याकेजमा मेश वाईफाई समेत चाहनुहुन्छ भने बिकन १.१ का लागि दुई हजार रुपैयाँ रेन्टल चार्ज तथा २५०० डिपोजिट गर्नुपर्ने हुन्छ ।
सीजी–१२० एमबीपीएस
चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सीजी नेटका नाममा यसै वर्षबाट इन्टरनेट सेवा प्रदान गर्न थालेको हो । कम्पीले बजारमा प्रवेश गर्दा नै नेपालकै सबैभन्दा बढी गतिको इन्टरनेट स्पिड ल्याएको थियो ।
कम्पनीले हालसम्म एउटा प्याकजमात्रै ग्राहकलाई उपलब्ध गराइरहेको छ । यसका लागि ग्राहकले एक महिना, तीन महिना, ६ महिना तथा एक वर्षमध्ये कुनै पनि प्याकेज लिन सक्नेछन् ।
१२० एमबीपीएस गतिको यो प्याकेजको वार्षिक शुल्क ११ हजार ९८८ रुपैयाँ रहेको छ । जसअनुसार प्रति महिना प्रति एमबीपीएसको मूल्य ८.३३ रुपैयाँ पर्न आउँछ । तर यसमा निःशुल्क भएपनि आईपीटिभी भने तपाईंले पाउनुहुने छैन ।
भायानेट– १४० एमबीपीएस
भायानेट कम्युनिकेसन्सले केही महिना अघिदेखि आईपीटिभी बन्डलिङसहित १४० एमबीपीएससम्मको इन्टरनेट सेवा दिँदै आएको छ । कम्पनीले १४० एमबीपीएस गतिको इन्टरनेट एक वर्षे प्याकेजको रुपमा मात्रै उपलब्ध गराएको छ ।
जसको मूल्य मासिक प्रति एमबीपीएस १२.८६ रुपैयाँ पर्न आउँछ । यसमा कम्पनीले तीन ओटा भायाटिभी सहित जडान समेत निःशूल्क गरेको छ ।
सुबिसु– १५० एमबीपीएस
सुबिसु केवल नेट लिमिटेड १५० एमबीपीएससम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । २८ हजार ३१८ रुपैयाँ शुल्क रहेको यो इन्टरनेट अनलिमिटेड भने होइन ।
यसको अर्थ तपाईंले यसमा सिमित अवधिसम्म १५० एमबीपीएसमा इन्टरनेट प्रयोग गर्न पाउनुहुन्छ भने त्यसपश्चात ४५ एमबीपीएसको फलब्याकमा इन्टरनेट सीमित हुने गर्छ ।
कम्पनीका अनुसार ग्राहकले यसमा दुई हजार जीबी डेटा प्राप्त गर्नेछन् । उक्त डेटा खपत भएपश्चात भने इन्टरनेट ४५ एमबीपीएसमा चल्नेछ ।
यो प्याकेजमा ग्राहकले मासिक रुपमा प्रति एमबीपीएसका लागि १५.७३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसमा कम्पनीले चार ओटा क्लियर टिभी निःशुल्क उपलब्ध गराउने छ ।
साथै, जडान शुल्क पनि निःशुल्क रहेको छ । ग्राहकले मासिक तीन महिनाे वा वार्षिक प्याकेजको रुपमा यो इन्टरनेट लिन सक्छन् ।
वर्ल्डलिङ्क १०० एमबीपीएस
वर्ल्डलिङ्कले भर्खरै दशैँको अवसरमा १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज समेत दिन सुरु गरेको छ । दशैँ अफरको रुपमा यो इन्टरनेट प्याकेज १९२०० रुपैयाँमा उपलब्ध छ । जसलाई ६ महिने प्याकेजको रुपमा समेत लिन सकिन्छ ।
यो प्याकेजका लागि ग्राहकले प्रति महिना प्रति एमबीपीएसका लागि १६ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यो प्याकेजमा डुअलब्यान्ड राउटर निःशुल्क हुनुका साथै जडान र अप्टिकल फाइबरका लागि समेत पैसा लाग्दैन ।
यद्यपि पछि फिर्ता लिन सकिनेगरी ५०० रुपैयाँ डिपोजिट भने राख्नुपर्ने हुन्छ । साथै यसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा पाउन सकिन्छ ।
क्लासिक टेक – १०० एमबीपीएस
अर्को इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले पनि १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज आफ्ना ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो इन्टरनेट ग्राहकले वार्षिक र अर्ध वार्षिक गरि दुई प्याकेजको रुपमा लिन सक्छन् ।
जसमा वार्षिक प्याकेजको मूल्य १९ हजार २०० रुपैयाँ तोकिएको छ । जसअनुसार मासिक प्रति एमबीपीएसको मूल्य १६ रुपैयाँ हुन आउँछ । यसमा कम्पनीले एउटा क्लासिक प्रभुटिभी र निःशूल्क जडानको व्यवस्था मिलाएको छ ।
डिशहोम फाइबरनेट – १०० एमबीपीएस
डिश मिडिया नेटवर्क लिमिटेड अन्तर्गत रहेको डिश फाइबरनेटले १०० एमबीपीएससम्मको इन्टरनेट प्याकेज ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । यो सेवाको शुल्क मासिक २,२०० रुपैयाँ तथा वार्षिक २२,००० रुपैयाँ तोकिएको छ ।
ग्राहकले एक महिना, तीन महिना, ६ महिना तथा एक वर्षमध्ये कुनै पनि प्याकेजको रुपमा यो इन्टरनेट लिन सक्छन् । इन्टरनेटको वार्षिक प्याकेज लिँदा ग्राहकले प्रति महिना प्रति एमबीपीएसका लागि १८.३३ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । जडान निःशुल्क भएतापनि यसमा अन्य सेवा प्रदायकको जस्तो अतिरिक्त रुपमा आईपीटिभी सेवा निःशुल्क गरिएको छैन ।
| सेवा प्रदायक | इन्टरेनट स्पिड(एमबीपीएसमा) | प्याकेज | शुल्क | अफर | मासिक प्रति एमबीपीएस शूल्क |
| वर्ल्डलिंक | ३०० | वार्षिक | २२००० | ३ ओटा नेट टिभीनिःशुल्क डुअल ब्यान्ड राउटर | ६.११ रुपैयाँ |
| सुबिसु | १५० | वार्षिक | २८,३१८ | ४ क्लियर टिभी, निशुल्क जडान | १५.७३ रुपैयाँ |
| भायानेट | १४० | वार्षिक | २१,६०० | ३ ओटा भायो टिभी, निशुल्क जडान | १२.८६ रुपैयाँ |
| क्लासिक टेक | १०० | वार्षिक | १९,२०० | १ क्लासिक प्रभु टिभी, निशुल्क जडान | १६ रुपैयाँ |
| डिशहोम | १०० | वार्षिक | २२,००० | निशुल्क जडान | १८.३३ रुपैयाँ |
| सीजीनेट | १२० | वार्षिक | ११,९८८ | निःशुल्क जडान | ८.३३ रुपैयाँ |
| वर्ल्डलिङ्क | १०० | वार्षिक | १९,२०० | एउटा नेटटिभी, निःशुल्क जडान, निःशुल्क डुअल ब्यान्ड राउटर | १६ रुपैयाँ |
*माथि उल्लेख गरिएका सबै मूल्यहरु भ्याट बाहेक हुन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
