काठमाडौं । सोनीले फोटोग्राफीमा रुचि राख्ने स्मार्टफोन पारखीका लागि ‘एक्सपेरिया प्रो-आई’ (Sony Xperia Pro-I) सार्वजनिक गरेको छ । मिररलेस क्यामेरा बनाउन माहिर सोनीले आफ्नो नयाँ स्मार्टफोनमा पनि यस्तै प्रविधिको अधिकतम प्रयोग गरेको छ ।
क्यामेरालाई लक्षित गरी बनाइएको यस फोनमा फोरके डिस्प्ले र क्वालकमको स्नापड्रागन ८८८ चिपसेट छ । साथै यसमा १२ जीबी र्याम र ५१२ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ ।
फोनको पछाडिपट्टि एक इन्चको प्राइमरी सेन्सर छ । २४ एमएमको लेन्सले एफ/२.० र एफ/ ४.० सम्म शुट गर्न सक्छ ।
भिडिओको कुरा गर्नुपर्दा एक्सपेरिया प्रो-आईले अप्टिकल इमेज स्टेबलाइजेसन र १२० एफपीएस (फ्रेम प्रति सेकेण्ड) फोरके क्वालिटीमा खिच्न सक्छ ।
साथै यो फोनमा सेकेन्डरी डिस्प्लेको रूपमा भ्लग मनिटर (Vlog monitor) देख्न सकिन्छ, जुनको फोनको पछाडि अट्याच गरिएको छ ।
योसँगै तपाईंले एक इन्चको सेन्सरबाट आफूलाई फ्रेमभित्र राखी भिडियो क्याप्सर गर्न सक्नुहुनेछ । यसमा रहेकाे भ्लगर माेडले फाेरके क्वालिटीमा १२० फ्रेम प्रति सेकेण्डसम्म अब्जेक्ट ट्रयाक गर्न सक्छ ।
प्राइमरी सेन्सरबाहेक सोनीको एक्सपेरिया प्रो-आईमा अतिरिक्त दुई सेन्सर छन् । १२ मेगापिक्सेल १/२.९ इन्चको पोट्रेट सेन्सरका लागि ५० एमएम एफ/२.४ लेन्स रहेको छ ।
यसका साथै अल्ट्रा वाइड शटका लागि १२ मेगापिक्सेलकाे सेन्सर राखिएकाे छ । स्मार्टफोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
यो फोनको खुद्रा मूल्य अमेरिकामा १८०० डलर अर्थात् करिब दुई लाख १६ हजार रूपैयाँ तोकिएको छ ।
स्मार्टफोनको प्रि-अर्डर अक्टोबर २८ मा हुने र डिसेम्बरदेखि बिक्री हुने जनाइएको छ ।