काठमाडौं । मुलुकको अति दुर्गम स्थानहरू मध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरूले अप्टिकल फाइबर लिङ्कमार्फत पश्चात दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिङ्कबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो ।
समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेसनलाई बिहीबार (२०७८ कात्तिक ११) १० जीबीपीएस क्षमताको फाइबर लिङ्कबाट जोडिएको हो । रेडियो लिङ्कको स्वाभाविक गुण तथा क्षमताको सीमितताका कारण विगत लामो समयदेखि सेवाग्राहीहरूको आवश्यकता र चाहना अनुसार उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन ।
नयाँ अप्टिकल फाइबर लिङ्क सञ्चालनमा अप्रत्याशित समस्या भएमा रेडियो लिङ्कलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने भएको हो । पत्ताले रिपिटरलाई फाइबरबाट लिङ्क गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरूको गुणस्तर अभिवृद्धि हुने कम्पनीले जनाएको छ ।
यसका साथै यो लिङ्कबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरूको मोबाइल ट्राफिक आदान प्रदान गर्न पनि सहज हुनेछ । विगतका वर्षहरूमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरको बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिङ्कको प्रयोगसँगै अब उप्रान्त ग्राहकहरूले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने कम्पनीको अपेक्षा छ ।