काठमाडौं । आज हामी अनलाइन दुनियाँमा चलिरहेका छौं, जुन सूचना प्रविधिको एउटा देन हो । सामान्यतया हेर्ने हो भने यसले मानिसलाई सहजता प्रदान गरेको छ । तर, सँगै यसले हाम्राे जीवनमा चुनौती पनि थपिरहेकाे छ ।
अनलाइन दुनियाँमा जोडिँदै गर्दा आज हामी हरेक क्षण साइबर अपराधीको निशानामा छौं । कतिपय त साइबर हमलाको शिकार पनि बनिरहेका छाैं ।
यस्तोमा हुनसक्ने सम्भावित साइबर हमलाबाट बच्न धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ ।
हामीले केही यस्ता बानीको पनि विकास गर्न आवश्यक छ, जसले साइबर हमलाबाट सुरक्षित राख्न मद्दत गर्छ ।
यसै सन्दर्भमा यहाँ हामी दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको साइबर सुरक्षाका लागि राम्रा बानीका विषयमा जानकारी दिँदैछौ ।
१. आफ्ना उपकरणहरू जस्तै; मोबाइल, ट्याब्लेट, ल्यापटप/डेस्कटप कम्प्युटरलाई सकेसम्म बेवारिसे नछोडौं, छोड्नै परेमा लक गरेर राखौं ।
२. बलियो पासवर्ड (अंक, अक्षर: Lower & Upper case, चिन्हसहितको १० अक्षरभन्दा बढी भएको) राखौं र पासवर्डलाई नियमित परिवर्तन गरौं ।
३. आफ्नो पासवर्ड, ओटीफी, पिन कोड कसैसँग शेयर नगरौं । साथै पासवर्ड, ओटीपी, पिन कोडलाई सुरक्षित साथ राखौं ।
४. आफ्नो खाता (Email Account, Social Media, Facebook, Mobile Banking App आदि) हरुमा पासवर्डका अतिरिक्त कम्तिमा थप एउटा अथेन्टिकेसन गर्ने माध्यम जस्तै मोबाइल नम्बर, आफ्नो ईमेल, फिङ्गरप्रिन्टजस्ता मल्टि-फ्याक्टर अथेन्टिकेसन प्रयोग गरौं ।
५. शंकास्पद लिंकहरुमा क्लिक नगरौं । साथै असुरक्षित वेबसाइटको भिजिट नगरौं र Freeware/Pirated Contents/Software Download तथा Install नगरौं ।
६. अपरेटिङ सिस्टम/ एप्लिकेशन सफ्टवेयर/ एन्टिभाइरसलाई नियमित अद्यावधिक (Update) गरौं । साथै, आफ्नो उपकरणलाई नियमित स्क्यान गरौं ।
७. पब्लिक वाई-फाई तथा सार्वजनिक कम्प्युटरको प्रयोग गरी आर्थिक कारोबार आदि नगरौं ।
८. आफ्ना महत्वपूर्ण तथा संवेदनशील डेटाको नियमित ब्याकअप राखौं ।
९. बेवारिसे रुपमा भेटिएको यूएसबी ड्राइभ/पेनड्राइभ आदिलाई स्क्यान नगरिकन आफ्नो कम्प्युटरमा प्रयोग नगरौं ।
१०. आफ्नो पुरानो कम्प्युटर, मोबाइल, पेनड्राइभ आदिबाट आफ्नो डेटा मेटिएको सुनिश्चित गरी मात्र डिस्पोज गरौं ।