close

कात्तिक २३ देखि जिमेल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य

टेकपाना टेकपाना

कात्तिक १८, २०७८ १०:४

कात्तिक २३ देखि जिमेल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताका हरेक अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य बनाउन थालेको छ । कम्पनीले गत मे महिनामा सन् २०२१ भित्रै सबै गुगल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन अनिवार्य बनाउने योजना अघि सारेको थियो ।

यो योजना पुरा हुन अब दुई महिनामात्र बाँकी छ । यसैबीच गुगलले नोभेम्बर ९ अर्थात् कात्तिक २३ देखि प्रयोगकर्ताको अकाउन्टमा स्वतः टु फ्याक्टर अथेन्टिकेशन लागू गर्ने तयारी गरेको छ ।

सबै गुगल अकाउन्टमा यो सुरक्षा प्रणाली कार्यान्वयनमा ल्याउने योजनासहित कम्पनीले यस्तो तयारी गरेको हो । यो प्रक्रियाले प्रयोगकर्ताको व्यक्तिगत डेटा सुरक्षा गर्ने कम्पनीको विश्वास छ ।

यसका लागि केही प्रयोगकर्तालाई ईमेल र नोटिफिकेशनमार्फत जानकारी दिँदै गुगलले सात दिनभित्र टु-स्टेप भेरिफिकेशन एक्टिभेट गर्न आग्रह गरेको छ । सात दिनभित्र प्रयोगकर्ताले टुएफए एक्टिभेट नगरे गुगलले नै स्वतः एक्टिभेट गरिदिनेछ ।

प्रयोगकर्ताले ‘टु-फ्याक्टर अथेन्टिकेशन’ अर्थात् ‘टु स्टेप भेरिफिकेशन’ इनेबल गरेपछि गुगल अकाउन्ट लगईन गर्नेबेला फोनमा ओटीपी (वान टाइम पासवर्ड) पाउँछन् ।

यसअन्तर्गत १५ करोड गुगल अकाउन्टमा स्वतः टु फ्याक्टर अथेन्टिकेशन लागू हुनेछ । यद्यपि पेड गुगल वर्कस्पेस अकाउन्ट भएका संगठनलाई भने ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य गरिएको छैन ।

किन आवश्यक छ यो सुरक्षा प्रणाली ?

कुनै प्रयोगकर्ताको जिमेल अकाउन्टमा नियन्त्रण कायम गर्नु कुनै पनि साइबर अपराधीका लागि मूल्यवान उपहार जस्तै हो । किनभने एउटै जिमेल अकाउन्टबाट प्रयोगकर्ताका अनेक सूचना राखिएका अन्य अकाउन्टमा पुग्ने बाटो तयार हुन्छ ।

आक्रमणकारीले यसरी पहुँच बनाउन सक्ने अवस्थामा पासवर्ड परिवर्तन गरेर वास्तविक व्यक्तिको अकाउन्ट नै हत्याउन सक्ने र भयानक क्षति निम्त्याउन सक्छन् । त्यसैले सुरक्षाका लागि युजरनेम र पासवर्डका साथै दोस्रो चरणको प्रमाणीकरण आवश्यक हुन्छ ।

यो फिचर प्रयोगकर्ताले डिफल्ट रुपमा प्राप्त गर्नेछन् । यसको अर्थ यसअघि जस्तो अब यो फिचर अप्सनल हुनेछैन । यो फिचर प्रयोग नगर्ने प्रयोगकर्ताको अकाउन्टमा समेत यो फिचर स्वतः लागू हुनेछ ।

गुगलले आफ्नो ब्लग पोस्टमार्फत गुगलमा साइन ईन गर्नका लागि टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । यो फिचरको सहयोगमा प्रयोगकर्ताको सुरक्षा थप प्रभावकारी हुनेछ ।

यो फिचर लागू भएपश्चात तपाईंको मोबाइल डिभाइस बिना कसैले पनि तपाईंको गुगल अकाउन्ट खोल्न सक्नेछैन । यतिसम्म कि यदि कुनै व्यक्तिको साथमा तपाईंको युजरनेम र पासवर्ड छ भने पनि त्यस्तो व्यक्तिले तपाईंको अकाउन्टमा पहुँच बनाउन सक्दैन ।

जब तपाईंले टु फ्याक्टर अथेन्टिकेसनको सहयोगमा अकाउन्ट लगईन गर्नुहुनेछ, तब तपाईंको फोनमा एसएमएस, भ्वाइस कल वा गुगल एप को माध्यमबाट एउटा कोड प्राप्त हुनेछ । ब्लगमा अब पासवर्ड चोरी हुने विषय पुरानो समयको कुरा हुने उल्लेख छ ।

टु फ्याक्टर अथेन्टिकेसनलाई डिफल्ट बनाउने गुगलको यो प्रयासलाई एउटा महत्वपूर्ण अग्रसरताको रुपमा लिइएको छ । यद्यपि यो फिचर सही रुपमा कन्फिगर गरिएका अकाउन्टमा मात्र डिफल्ट रुपमा लागू हुने बताइएको छ ।

यसलाई स्पष्ट पार्दै गुगलले भनेको छ, ‘उचित रुपमा कन्फिगर गरिएको अर्थ जो प्रयोगकर्ताले नियमित रुपमा आफ्नो अकाउन्ट साइन इन गर्छन् र मोबाइल डिभाइसमार्फत गुगलका उत्पादनहरुमा व्यस्त रहन्छन् । साथै जसले आफ्नो अकाउन्टमा रिकभरी ईमेल तथा रिकभरी फोन नम्बर जस्ता रिकभरी सूचनाहरु राखेका छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५