close

इन्स्टाग्राम र ट्विटरको दशक लामो दुश्मनी कसरी भयो अन्त्य ?

टेकपाना टेकपाना

कात्तिक १९, २०७८ ११:२४

इन्स्टाग्राम र ट्विटरको दशक लामो दुश्मनी कसरी भयो अन्त्य ?

काठमाडौँ । यसै साता इन्स्टाग्रामले एउटा घोषणा गर्यो  जुन ९ वर्षदेखि प्रयोगकर्ताको प्रतीक्षामा थियो । सन् २०१२ यता इन्स्टाग्रामबाट ट्विटरमा फोटो पोस्ट गर्दा लिङ्क मात्रै देखिन्थ्यो । अबदेखि भने इन्स्टाग्रामबाट ट्विटरमा फोटो सेयर गर्दा प्रिभ्यू पनि देखिनेछ । योसँगै इन्स्टाग्रामलाई फेसबुकले किनेपछि सुरु भएको इन्स्टाग्राम र ट्विटरको दुश्मनी पनि अन्त्य भएको छ । 

सन् २०१० मा सुरु भएको इन्स्टाग्रामबाट त्यो बेलामा ट्विटरमा फोटो सेयर गर्न निकै सजिलो हुन्थ्यो । त्यो समयमा ट्विटरले आफ्नो प्लेटफर्ममा फोटो अपलोड गर्ने सुविधा ल्याइसकेको थिएन । ट्विटरमा फोटो पोस्ट गर्दा विभिन्न थर्ड पार्टी एपहरूमार्फत गर्नुपर्ने अवस्था थियो । यस्तो अवस्थामा इन्स्टाग्रामको आगमनले ट्विटरमा फोटो सेयर गर्न निकै सहज बनाएको थियो । 

इन्स्टाग्रामका सह संस्थापक केभिन सिस्ट्रोम र ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीबीच व्यक्तिगत घनिष्ठता पनि एकदमै राम्रो थियो । दुवै जना ट्विटर र इन्स्टाग्राममा जोडिनु अघि एकै कम्पनीमा काम गर्थे । 

इन्स्टाग्राम स्थापना भएपछि ज्याक डोर्सीले पनि निकै सद्भाव देखाए । उनले आफ्नो ट्विटरमा बरोबर इन्स्टाग्रामका फोटो अपलोड गरिरहन्थे । ज्याक डोर्सीको सिको गर्दै जस्टिन बिबर, स्नुप डगजस्ता सेलिब्रेटीले पनि आफूले इन्स्टाग्राममा अपलोड गरेको फोटोहरू ट्विटरमा पनि सेयर गर्न थाले । आफ्नो प्लेटफर्ममा फोटो अपलोड गर्ने सुविधा नभए पनि इन्स्टाग्रामको आगमनले ट्विटरलाई  पनि सजिलो बनाइदिएको थियो । सन् २०१२ अघि ट्विटर र इन्स्टाग्रामको व्यावसायिक सम्बन्ध पनि घनिष्ठ थियो । ट्विटरबाटै इन्स्टाग्राममा भएका आफ्ना साथीहरूको सूची हेर्न मिल्ने सुविधा थियो । 

सन् २०१२ अप्रिलमा फेसबुकले ७१ करोड ५० लाख अमेरिकी डलरमा इन्स्टाग्राम किनेपछि भने ट्विटर र इन्स्टाग्रामको तिक्तता सुरु भयो । फेसबुक अघि ट्विटरले पनि इन्स्टाग्राम किन्ने प्रयास गरेको थियो । तर, फेसबुक मालिक मार्क जुकरवर्गले इन्स्टाग्रामका सहसंस्थापकद्धय सिस्ट्रोम र माइक क्रिगरलाई उनीहरूको काममा कुनै हस्तक्षेप नगर्ने र इन्स्टाग्रामलाई विश्वव्यापी ब्रान्ड बनाउने आश्वासन दिएपछि इन्स्टाग्राम किन्ने ट्विटरको सपना पुरा भएन । 

इन्स्टाग्राम किन्ने आफ्नो प्रयास असफल भएको घटनालाई ट्विटरका प्रमुख कार्यकारी अधिकृत डोर्सीले व्यक्तिगत रिसइबीको रूपमा लिए । त्यसपछि डोर्सीले इन्स्टाग्रामबाट ट्विटरमा कहिल्यै फोटो पोस्ट गरेनन् । केही महिनापछि ट्विटरबाटै इन्स्टाग्राममा भएका साथीको सुची हेर्ने सुविधा पनि हट्यो । 

सन् २०१२ को डिसेम्बरमा फेसबुकले पनि बदलाको भाव राख्यो र इन्स्टाग्रामबाट ट्विटरमा फोटो पोस्ट गर्दा प्रिभ्यू नदेखिने बरु लिङ्क मात्रै देखिने व्यवस्था गर्यो  । 

नो फिल्टर नामक पुस्तककी लेखिका सरा फ्रायरका अनुसार इन्स्टाग्रामबाट ट्विटरमा फोटो पोस्ट गर्ने सुविधाले ट्विटरलाई बढी फाइदा भइरहेको फेसबुकको विश्लेषण थियो । यही विश्लेषणको आधारमा इन्स्टाग्रामले ट्विटरमा फोटो पोस्ट गर्दा देखिने प्रिभ्यू लिङ्क बन्द गरेको थियो । 

यो घटनापछि क्षुब्ध भएको ट्विटरले इन्स्टाग्राम बेच्दा सिस्ट्रोमले नक्कली कागजपत्र बनाएको र झुटो विवरण दिएको भन्दै न्यूयोर्क टाइम्समा समाचार नै बनाउन लगायो । तर, यो आरोप हालसम्म पुष्टि भइसकेको छैन । 

त्यसपछिका नौ वर्षमा धेरै घटना भयो । सन् २०१८ इन्स्टाग्रामका दुवै सह संस्थापकले फेसबुक छाडे । त्यो बेलासम्म इन्स्टाग्राम प्रयोगकर्ता एक अर्ब नाघिसकेका थिए । इन्स्टाग्रामका प्रयोगकर्ताको औसत उमेर फेसबुकका प्रयोगकर्ताको भन्दा कम थियो । यसको अर्थ हो इन्स्टाग्राम युवा पुस्ताबीच लोकप्रिय भइरहेको थियो । 

यो बीचमा फोटो प्रिभ्यू हुने सुविधा सुरु गर्न ट्विटरले पनि इन्स्टाग्रामसँग अनुरोध गरिरहेको थियो । तर, इन्स्टाग्रामले यसलाई प्राथमिकतामा राखेको थिएन । 

बरु ट्विटरले इन्स्टाग्रामलाई आफूसँग जोड्न अनेक प्रयत्न जारी राख्यो । ट्विटरले इन्स्टाग्राममा आफ्नो अकाउन्ट बनायो भने ट्विटलाई इन्स्टाग्राम स्टोरिजमा राख्न मिल्ने सुविधा सुरु गर्यो ।

अहिले ट्विटरका रेभेन्यू प्रडक्टका प्रमुख फाल्क छन् । ट्विटर आउनु अघि उनी प्रविधि सम्बन्धी विज्ञापन गर्ने कम्पनी टर्नका प्रमुख कार्यकारी अधिकृत थिए । उनी प्रमुख कार्यकारी अधिकृत हुने वित्तिकै टर्न छाडेका विशाल शाह इन्स्टाग्रामका हेड अफ प्रडक्टको रूपमा काम सुरु गरे । अगस्ट महिना यता भने शाह मेटाभर्सका उपाध्यक्ष छन् । 

ट्विटरको समस्या सुल्झाउन यही मे महिनामा फल्कले साहसँग सम्पर्क राखे । साहको पहलमा फाल्ककै घरमा इन्स्टाग्राम र ट्विटरको टोली पिज्जा खाँदै समाधानको विकल्पमा छलफल गरेका थिए । 

बैठकमा सहभागी ट्विटरका कम्ज्युमर प्रडक्टका प्रमुख बिकपोर र इन्स्टाग्रामका प्रमुख एदम मोसेरी बसेर समस्या सुल्झाउने वार्ता गरे । सोही बैठकमा इन्स्टाग्रामबाट ट्विटरमा पोटो पोस्ट गर्दा प्रिभ्यू देखिने सुविधा ल्याउने प्रसङ्ग उठ्यो र मोसेरीले भने– ट्विटर टाइमलाइनमा फोटो देखिने बनाउनको लागि इन्स्टाग्रामको कुनै विरोध छैन । यसको लागि केही इन्जिनियरलाई खटाए पुग्छ । 

सोही बैठकमा मोसेरीले यो विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

लिङ्क प्रिभ्यू फिचरलाई ट्विटरमा पुनः सुरु गर्दा मोसेरीले दुई वटा कुरा सोचेका थिए । यसले इन्स्टाग्रामलाई कुनै जोखिम हुन्छ ? र, यसले प्रयोगकर्तालाई फाइदा हुन्छ ? 

दुवै प्रश्नमा घोत्लिँदा उनले कुनै ठोस निष्कर्ष निकाल्न सकेनन् । बरु, प्रयोगकर्ताले यसलाई पक्कै मन पराउने ठाने र आफ्नो इन्जिनियर समूहलाई यो फिचरको लागि खटाए । र, केही महिनाको परीक्षणपछि नौ वर्षदेखि हराइरहेको फिचर ट्विटरमा फेरि सुरु भयो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५