close

विन्डोज ७ र ८ मा वानड्राइभ अपडेट बन्द गर्ने माइक्रोसफ्टको घोषणा

टेकपाना टेकपाना

कात्तिक २२, २०७८ ९:४८

विन्डोज ७ र ८ मा वानड्राइभ अपडेट बन्द गर्ने माइक्रोसफ्टको घोषणा

काठमाडौं । विन्डोज ७, ८ र ८.१ प्रयोगकर्ताको लागि वानड्राइभको अपडेट बन्द गर्ने माइक्रोसफ्टले घोषणा गरेको छ । कम्पनीको यो नीति आगामी वर्षको मार्च १ तारिखदेखि लागू हुनेछ । माइक्रोसफ्टले ब्लग पोष्टमार्फत यो जानकारी गराएको हो । 

मार्च १ पछि विन्डोज ७, ८ र ८.१ प्रयोगकर्ताले वानड्राइभको नयाँ अपडेट पाउने छैनन् भने आफ्नो कम्युटरमा भएको फाइल क्लाउडमा राख्न पनि पाउने छैनन् । विन्डोज १० र ११ अपरेटिङ सिस्टम भएका कम्प्युटर मात्रै वानड्राइभको अपडेट उपलब्ध हुने कम्पनीले जनाएको छ । 

तर, जुनसुकै अपरेटिङ सिस्टम प्रयोगकर्ताले पनि आफूले वानड्राइभमा राखेको पुराना फाइलमा भने पहुँच पाउने कम्पनीले जनाएको छ । तर, यसअघि जस्तो कम्प्युटर भएको फाइल स्वतः वानड्राइभमा अपडेट हुने सुविधा भने प्रयोगकर्ताले पाउने छैनन् ।

यो सुविधाको लागि आफ्नो अपरेटिङ सिस्टमलाई अपग्रेड गरी विन्डोज १० वा ११ प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ । नयाँ प्रविधिमा आफ्नो जनशक्तिलाई केन्द्रित गर्नको लागि यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । 

माइक्रोसफ्टले सन् २०२५ देखि विन्डोज १० को लागि पनि सपोर्ट दिन बन्द गर्ने घोषणा गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५